वनलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य

असार २१, २०८२

वीरेन्द्र केसी

Forest should be linked with production and employment: Chief Minister Acharya

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उपयोग गर्दै उपभोक्तालाई परिचालन गरेर उत्पादन, आयआर्जन र रोजगारीसँग जोड्नुपर्ने बताएका छन् । उनले वनलाई प्रदेश सरकारले उत्पादन र आम्दानीको रुपमा विकास गर्ने बताए । 

‘वनमा अहिले पातपतिङ्गर खेर गइरहेको छ, उपभोक्तालाई परिचालन गरेर संकलन गरौं र प्रांगारिक मल बनाऔं,’ सन्धिखर्क नगरपालिका–२ विहारमा डिभिजन वन कार्यालयले उत्पादन गरेको वन नर्सरीको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘जिल्लाभरका सामुदायिक वन उपभोक्ता समितिलाई व्यापक परिचालन गरेर पातपतिङ्गर संकलन गरे मल बनाउन लगाउनुपर्छ ।’

शितगंगा नगरपालिका–१४ मा पाँचवटा सामुदायिक वनले पातपतिङ्गर संकलन गरेर प्रांगरिक मल उत्पादन गर्न तयारी गरेका छन् । वन कार्यालयको सहयोगमा दुईवटा पोखरी निर्माण भैसकेका छन् । मुख्यमन्त्री आचार्यले खेर जाने पातपतिङ्गरलाई संकलन गरेर मल बनाउँदा खेतीबाली अर्गानिक उत्पादन हुने, उपभोक्ताले रोजगारी पाउने गरी काम गर्न डिभिजन वन कार्यालयलाई निर्देशन दिए । उनले मल उत्पादनका लागि सबै वन उपभोक्तालाई सरकारले मेसिन दिने पनि बताए । 

उनले प्रदेश सरकारले अघि सारेको अर्गानिक उत्पादन अभियानलाई थप टेवा पुर्‍याउन वनका पातपतिङ्गरबाट प्रांगारिक मल उत्पादन गर्नुपर्नेमा उनले जोड दिए । जिल्लाभरका सबै सामुदायिक वन उपभोक्ता समितिलाई पातपतिङ्गर संकलन गर्ने अभियान चलाउन वन कार्यालयलाई आचार्यको अनुरोध छ । 

वनमा बिरुवा रोप्ने मात्र नभई संरक्षण गर्दै काठ, जडिबुटी, फलफूलसहित उत्पादन गरेर स्थानीयलाई उद्यम, रोजगारी र आर्यआर्जनको स्रोतको रुपमा विस्तार गर्ने खालका कार्यक्रम बनाउनुपर्ने वन अधिकृतहरुलाई आचार्यले सुझाव दिए । 

वनको अवस्था र विरुवा उत्पादनको बारेमा मुख्यमन्त्री आचार्यले डिभिजन वन कार्यालय प्रमुख मोहन श्रेष्ठले जानकारी गराएका थिए । चालु आर्थिक वर्षमा जिल्लाको ६३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य रहेको वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । छ स्थानमा नर्सरी स्थापना गरेर उत्पादन भएका १ लाख ६३ हजारवटा वर्षे र बहुवर्षे बिरुवा तयारीको अवस्थामा छन् । हालसम्म २० हजार पाँचसय टिमुरका र तेजपातका १२ हजार ९ सय बोट रोपण गरिएको खड्काले मुख्यमन्त्रीलाई जानकारी गराए । 

१ लाख८३ हजार ८ सय ३० वटा ३२ प्रजातिका बिरुवा उत्पादन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वीरेन्द्र

Link copied successfully