परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा ९ घन्टादेखि सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छ्न् । दिउँसो १ बजेदेखि विश्वकर्मा मन्दिर नजिकै सवारी फसेर यातायात संचालनमा असहज हुँदा सयौं सवारी जाममा परेका छ्न् ।
दिउँसो १ बजे दुम्किबास पुगेको सवारी बर्दघाटतर्फ जान लागेका यात्रु ९ घन्टादेखि जाममा बस्नु परेको छ ।
देशको मुख्य राजमार्ग ९/१० घन्टा जाममा पर्दा पनि खुलाउने ठोस पहल नभएको दाउन्ने जाममा परेका सुनवलका रमेश सुवेदीले आक्रोश पोखे । दुम्किबासबाट दाउन्नेतर्फ विश्वकर्मा मन्दिर नजिकै सवारी उकालो उक्लन नसक्ने र फस्ने गरेको कारण जाम भएको र खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
दाउन्नेको जाममा फसेका यात्रुलाई खाना, पानी र शौचालयका लागि समस्या परेको गुनासो गरेका छ्न् ।
पश्चिमबाट पूर्वतर्फ आउने सवारी चलेको भए पनि पूर्वबाट पश्चिम जाने सवारी संचालनमा समस्या छ । रातको समयमा यात्रु अलपत्र छ्न् । केही यात्रु हिँडेर नै दाउन्ने खण्डको १४ किलोमिटर हिँडेर पार भएको भए पनि बालबालिका, वृद्धवृद्धा र अशक्त भने भोकभोकै जाममा बस्नु परेको छ ।
