काठमाडौँ — उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सोमबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने जनाएको छ ।
संघको शुक्रबार बसेको कार्यकारिणी समितिको आकस्मिक बैठकले अहिलेको विषम परिस्थितिमा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले शुक्रबार शाखा कार्यालयहरुद्वारा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ भने आइतबार सम्पूर्ण चिकित्सकहरूद्वारा आ- आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने विरोधका कार्यक्रम तय गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै संघका सम्पूर्ण शाखा कार्यालयहरूद्वारा चिकित्सकहरूको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी सोमबारभित्र संघको केन्द्रीय कार्यालय, काठमाडौँमा पठाउने, मंगलबार सम्पूर्ण चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउनेसमेत संघको विरोध कार्यक्रम रहेको संघका महासचिव डा. सन्जिब तिवारीले जनाए ।
