हवाई सेवा देशको कूटनीति र छवि हो : सांसद किराँती

असार २०, २०८२

कान्तिपुर संवाददाता

Air service is the country's diplomacy and image: MP Kiranti

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन्।

शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको थियो। सो विषयमा बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासका लागि विधेयक अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।

उनले नेपाल युरोपेली युनियनको कालोसूचीमा परेको अवस्थालाई उल्लेख गर्दै नेपालले काम नगर्ने देश भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा फैलिरहेको बताए। किराँतीले कालोसूचीको प्रत्यक्ष असर नेपाल वायुसेवा निगममा परेको र अन्य निजी वायुसेवा कम्पनीहरूसँग अन्तर्राष्ट्रिय उडानका लागि जहाज नै नभएको स्पष्ट पारे।

उनले भने, 'हवाई सेवा देशको कूटनीति र देशको छवि हो। अब प्रभावकारी सेवा र विकासका लागि यो विधेयक अत्यन्तै आवश्यक छ। तर हामीले १२ वर्षभन्दा बढी समय बिताइसकेका छौँ, यो विधेयक अझै टुङ्गिएको छैन। नेपाल युरोपेली युनियनको कालोसूचीमा परेको छ। यसको प्रत्यक्ष असर नेपाल वायुसेवा निगममा परेको छ। अरूसँग त जहाज छैन। विदेशी जहाजलाई त रोकिएको छैन, नेपाल ध्वजावाहकलाई मात्र रोकिएको हो। हिमालयनसँग त्यो जहाज छैन। यति ठूलो क्षति भइरहेको छ। नेपाल काम नगर्ने देश हो भन्ने सन्देश अन्तर्राष्ट्रिय रूपमा फैलिरहेको छ।'

सांसद किराँतीले विधेयक पारित गर्न हतारमा त्रुटिपूर्ण बनाउन नहुने धारणा पनि राखे।

कान्तिपुर

Link copied successfully