रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

असार २०, २०८२

रासस

Adherence to Blood Transfusion Quality Standards: Red Cross Society

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चारको गुणस्तरलगायतका विषयमा प्रश्नचिह्न खडा गरी जनमानसलाई त्रास तथा भ्रम फैलाउने प्रयत्न गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

रेडक्रसले आज विज्ञप्तिमार्फत नेपाल सरकारको राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा उल्लेख भएअनुसार रक्तदाता छनोट, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भारका मापदण्ड पालना गरी विभिन्न प्रविधिअनुसार नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले तोकेको शुल्क लिई सेवा प्रदान गरिरहेको स्पष्ट पारेको हो ।

नेपाल रेडक्रसले नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन तथा विज्ञहरूको टोलीबाट हुने छानबिन, अनुगमनका लागि खुला रहेको जनाएको छ  । यसरी भएका छानबिन, अनुगमनबाट प्राप्त सुझावहरूको क्रमशः स्रोत र साधनले भ्याएसम्म कार्यान्वयन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए।  

रेडक्रसले हाल केन्द्रीय रक्तसञ्चार सेवालगायत प्रादेशिक र जिल्ला तहमा गरी एक सयभन्दा बढी स्थानमा स्वयंसेवक परिचालन गरी रक्तसञ्चार सेवा प्रदान गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणहरूको प्रयोगबाट सेवा भइआएको र राष्ट्रिय रक्तसञ्चार नीतिमा नै नेपाल रेडक्रस सोसाइटीको सेवाको उल्लेख भएको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल रेडक्रसले नेपालमा २०२३ सालमा स्थापना गरेको रक्तसञ्चार सेवाले २०४८ सालदेखि नीतिगत जिम्मेवारी पाई राष्ट्रिय रक्तसञ्चार नीति २०७१ र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत निर्देशिकाबमोजिम  सेवा सञ्चालन गर्दै आएको छ ।

रासस

Link copied successfully