त्रिविमा नतिजा अब ३ देखि ५ महिनाभित्रै

असार १९, २०८२

सुदीप कैनी

Tertiary result now within 3 to 5 months

काठमाडौँ — नतिजा प्रकाशनमा ढिलाइ गरेर आलोचित हुँदै आएको त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनको समयसीमामा उल्लेख्य सुधार गरेको छ । शैक्षिक सत्र २०७८ देखि २०८० को सुरुसम्म नतिजा प्रकाशनमा १८ महिनासम्म खर्चिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०८१ यता ३ देखि ५ महिनाभित्रै नतिजा प्रकाशन गर्न सफल भएको हो ।

त्रिविको ढिलासुस्तीमाथि टिप्पणी गर्दै महालेखापरीक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदनमा सुधार गर्न सुझाएको थियो । नतिजा प्रकाशनमा ढिलाइले लाखौं विद्यार्थीको शैक्षिक सत्र तथा रोजगारीका अवसर समेत प्रभावित भएको निष्कर्ष प्रतिवेदनले निकालेको थियो ।

महालेखाले नतिजा सार्वजनिक गर्न परीक्षा सकिएपछि २ सयदेखि ४ सय दिनसम्म समय लिएको जनाएको थियो । परीक्षाको नतिजा ढिलाइले विद्यार्थी मर्कामा परेका थिए भने त्रिविको पनि आलोचना हुँदै आएको थियो । परीक्षा नियन्त्रण कार्यालयका प्रमुख नवीन्द्र भण्डारी २०८१ यता सयदेखि डेढ सय दिनभित्र नतिजा प्रकाशन हुँदै आएको बताउछन् ।

उनका अनुसार बीबीएस दोस्रो वर्षको ३६ हजार विद्यार्थी सम्मिलित परीक्षाको नतिजा १०२ दिनमा प्रकाशन गरिएको छ । त्यस्तै बीएस्सीको नतिजा एक सय दिनभित्रै १६ जेठमा सार्वजनिक भएको थियो । ५६ हजार विद्यार्थी सहभागी बीबीएस चौथो वर्षको परीक्षाको नतिजा पनि १३२ दिनमा सार्वजनिक गर्न सफल भएको कार्यालयले जनाएको छ ।

बीए चौथो वर्षको नतिजा १४७ दिनमा सार्वजनिक भएको छ । बीएडको नतिजा ११५ दिनमा सार्वजनिक भएको छ । ढिलासुस्तीका कारण रोकिएर बसेका संकायका नतिजा प्रकाशन सकिएकाले आगामी दिनमा सय दिनभित्रै नतिजा प्रकाशन हुने भण्डारीको दाबी छ । 

रजिस्ट्रार केदारप्रसाद रिजाल परीक्षा नियन्त्रण कार्यालय प्रशासनिक सुधार, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई स्तरोन्नति र प्रविधिको प्रयोग बढाएर नतिजा प्रकाशनमा सुधार गरिएको बताउछन् । ‘अधिकांश सेवा अनलाइनबाट दिन थालेका छौं । कर्मचारीलाई सुविधा, जिम्मेवारी र क्षमता अभिवृद्धिका काम भएका छन । उत्तरपुस्तिका संकलन र परीक्षणसमेत क्षेत्रीय कार्यालयबाटै हुन्छन्,’ उनी भन्छन् ।

परीक्षा प्रणालीलाई नै पूर्णतया पुनःसंरचना गर्न लागिएको रजिस्ट्रार रिजालको भनाइ छ । ‘प्रशासनिक संरचनालाई चुस्त बनाएका छौं, ७३ दिनमा समेत नतिजा प्रकाशित भएको छ, अब सबैको सय दिनभित्रै गर्ने लक्ष्य छ,’ उनी भन्छन्, ‘क्याम्पसबाटै प्रमाणपत्र प्रिन्ट गर्ने व्यवस्था गरिएको छ ।’

शैक्षिक क्यालेन्डर लागू गर्दै भर्ना, परीक्षा र नतिजा प्रकाशन तोकिएको मितिमा गर्ने उनले जनाए । परीक्षा नियन्त्रण कार्यालयको चरम ढिलासुस्ती र लापरबाहीको कारण देखाउँदै उपकुलपतिहरूले परीक्षा सकिएको सय दिनभित्रै परीक्षाफल सार्वजनिक गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आएका थिए । २७ असोज २०८० को त्रिवि कार्यकारी परिषद्ले समेत परीक्षा सकिएको सय दिनभित्र परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

शैक्षिक सत्र २०७७/०७८ मा मानविकी संकायको नतिजा प्रकाशन हुन डेढ वर्ष लागेको थियो । २०७९ मा शैक्षिक सत्रका बीबीएस पहिलो वर्षको परीक्षा वैशाख २०८० मा सकिए पनि ४ सय दिनपछि जेठ २०८१ मा नतिजा सार्वजनिक भएको थियो ।

महालेखाको प्रतिवेदनमा बीबीएस चौथो वर्षको नतिजा २०४ दिनमा, बीबीए पहिलो वर्षको ३५७ दिनमा, बीएड पहिलो वर्षको ३८९ दिनमा प्रकाशित भएको उल्लेख छ । नतिजामा ढिलासुस्ती, उत्तरपुस्तिका हराउने लगायतका लापरबाही देखिएपछि गत वर्ष पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा अध्ययन तथा सुधार सुझाव कार्यदलसमेत त्रिविले गठन गरेको थियो ।

नतिजा प्रकाशनमा भएको सुधार सँगै कार्यालयले यही १५ असारदेखि सबै सेवा अनलाइनबाट उपलब्ध गराउन थालेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार १० वटा सेवा अनलाइनबाट प्राप्त गर्न सकिनेछ । यसअघि वैशाखदेखि ट्रान्सक्रिप्ट आवेदन फाराम, अनलाइन माध्यमबाट भर्ने/भराउने कार्य हुदै आएको थियो । अनलाइन भुक्तानीसहितका सेवा परीक्षणसमेत भइसकेको छ ।

पनिकाले त्रिवि रजिस्ट्रेसन आवेदन फाराम, परीक्षा आवेदन फाराम, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन, शैक्षिक कागजात (नाम/थर/रजिस्ट्रेसन सच्याउने) शैक्षिक सिफारिस प्रमाणीकरण, विभिन्न सिफारिस पत्र, प्रतिलिपि ट्रान्सक्रिस्ट र मार्कसिट आवेदन फाराम अनलाइन माध्यमबाटै प्राप्त गर्न सकिने जोशीले जनाए ।

पनिकाले शैक्षिक क्यालेन्डर लागू गरी परीक्षा प्रणालीलाई व्यवस्थित गर्दै समयमै नतिजा प्रकाशन गर्ने कार्यमा सफलता प्राप्त भएको जनाएको छ । २०७५ देखि अनलाइन दीक्षान्त फाराम गर्दै आएको त्रिविले १५ माघ २०७९ देखि सबै सेवा अनलाइन आवेदनबाट प्रदान गर्ने घोषणा गरे पनि अवरुद्ध भएको थियो ।

अनलाइनबाटै १० सेवा

–रजिस्ट्रेसन आवेदन

–परीक्षा आवेदन

–ट्रान्सक्रिप्ट आवेदन

–प्रोभिजनल सर्टिफिकेट

–मूल प्रमाणपत्र आवेदन

–पुनर्योग आवेदन

–शैक्षिक कागजात (नाम/थर/रजिस्ट्रेसन सच्याउने)

–शैक्षिक सिफारिस प्रमाणीकरण

–विभिन्न सिफारिस पत्र

–प्रतिलिपि ट्रान्सक्रिस्ट तथा मार्कसिट

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully