काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीको बुधबारको बैठकमा महामन्त्री गगन थापाविरुद्ध लक्षित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको अभिव्यक्ति हिंस्रक र अराजक रहेको भन्दै त्यसलाई पार्टी रेकर्डबाट हटाउन माग गरेका छन् ।
शिवाकोटीले जारी केन्द्रीय समिति बैठकमा बोल्दै यस्ता अभिव्यक्तिप्रति पार्टी चुप लागेर बस्न नहुने बताए ।
‘ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला-पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउने हो ? होइन भने 'ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होस गर' भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा हान्दा पनि पार्टीले रोक्न नसक्ने हो भने हामी कस्तो अभ्यासतर्फ जान खोजिरहेका छौं ?,’ उनले प्रश्न गरे।
शिवाकोटीले सभापति शेरबहादुर देउवालाई समेत प्रश्न सोधेका छन्, ‘सभापतिज्यू, यस्तो अराजकता कहिलेसम्म? मर्यादाहीन विषयलाई पार्टी रेकर्डमा राखेर हामी नयाँ पुस्तालाई के सन्देश दिन खोजिरहेका छौं ? यस्तो गैरजिम्मेवार र अराजक भनाइ पार्टीको रेकर्डबाट हटाइनुपर्छ ।’
उनले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेको अभिव्यक्तिको उल्लेख गर्दै भने, ‘लामिछानेले 'गगन थापाको पनि फाइल आफूसँग छ' भनेजस्तै बस्नेतज्यूले बुधबारको बैठकमा उही शैलीमा प्रस्तुत हुनुभयो । यदि फाइल छ भने कानुनी निकायमा बुझाउनुस्, थर्काउने होइन । भ्रष्टाचारमा फसेको फाइल भएको दाबी गरेर थापाविरुद्ध अतिरिक्त माया देखाउने किन ?’
शिवाकोटीले सुशासनका लागि मुद्दा नटुंगिन्जेल पार्टीको पदबाट अलग हुनु नै हितकर हुने बताए । उनले थपे, ‘अहिले जे भइरहेको छ, त्यो तपाईंको कर्मले हो । अरूलाई दोष नदिई आत्मसमीक्षा गर्नुस् । पार्टीलाई बदनाम बनाउने छुट तपाईंलाई छैन ।’
