काठमाडौँ — नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा चलेको र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न सचिवालय बैठक बसेको हो।
काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो। बैठकमा नेता रामकुमारी झाँक्रीले अध्यक्ष नेपालका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्।
झाँक्रीले अध्यक्ष नेपालका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको थियो। अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलेपछि उनको सासद् पद निलम्बनमा छ। तर उनी पार्टीको अध्यक्षबाट भने अलग भएका छैनन्।
बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयवस्तुहरुमा पनि छलफल हुने बताइएको छ।
