पार्टी अध्यक्षमाथि नैतिक प्रश्न उठाउने झाँक्रीलाई स्पष्टीकरण

अध्यक्ष नेपालविरुद्ध चलाइएको भ्रष्टाचार मुद्दा व्यक्तिगत हो कि पार्टीगत भन्ने विषयमा एकीकृत समाजवादीभित्र दुई धार

असार १९, २०८२

कान्तिपुर संवाददाता

Clarification of the pattern of raising ethical questions on the party president

काठमाडौँ — एकीकृत समाजवादीले पतञ्जलि योगपीठको जग्गा अनियमितता प्रकरणमा अभियोग लागेका पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्व नछाडेको विषयमा नैतिक प्रश्न उठाएकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । एकीकृत समाजवादीको अनुशासन आयोगका अध्यक्ष बालचन्द्र मिश्रले तीन दिनभित्र स्पष्टीकरण बुझाउन झाँक्रीलाई मंगलबार पत्र लेखेका छन् ।

हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा खरिदबिक्री गर्न स्वीकृति दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । थुनछेकको बहसपछि अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी बुझाएर अध्यक्ष नेपाल रिहा भएका थिए । 

स्थायी कमिटी सदस्य झाँक्रीले आइतबार बुटवलमा आयोजित कार्यक्रममा मुद्दा व्यक्तिगत भएकाले पार्टीले काँध थाप्न नसक्ने बताएकी थिइन् । ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनको भनाइ थियो, ‘अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं । होइन भने, मतदाता नामावली सारेर ल्याएका मान्छेबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरूले यो पार्टी बनाउनुहुन्न ।’

बुटवलको अभिव्यक्तिकै विषयमा झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको हो । समाजवादी केन्द्रीय कार्यालयका कर्मचारीले झाँक्रीको बुद्धनगरस्थित घर पुगेर स्पष्टीकरण पत्र बुझाएका छन् । नेतृ झाँक्रीले स्पष्टीकरण बुझाइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने प्रतिक्रिया दिइन् । ‘म पहिले जवाफ दिन्छु । त्यसपछि आफ्नो भनाइ सार्वजिनक गर्छु,’ उनले भनिन् । 

अध्यक्ष नेपालमाथि व्यक्तिगत रूपमा मुद्दा लागेकाले त्यसमा पार्टीलाई मिसाउन नहुने झाँक्रीको भनाइ रहँदै आएको छ । ‘पार्टी अध्यक्ष भएको हैसियतले होइन, प्रधानमन्त्री भएको बेला गरेको निर्णयमा मुद्दा दायर भएको हो । यसमा व्यक्तिगत रूपमा उहाँले प्रतिवाद गरिरहनुभएको छ । पार्टी जोडिँदा आन्दोलन कमजोर हुन्छ,’ उनले पार्टी नेताहरूलाई भनेकी थिइन्, ‘आफूबाहेक सबै भ्रष्टाचारी हुन् भन्ने प्रवृत्तिविरुद्ध मैले आवाज उठाएकी हुँ ।’ 

झाँक्रीको बुटवलको अभिव्यक्तिपछि महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपाललाई मुद्दा लगाएको विषयमा नबोल्न निर्देशन दिएका थिए ।

‘पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा २२ जेठमा विज्ञप्तिमार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ । यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने नै छ,’ महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्छ । साथै, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थान छन् भन्नेमा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद/प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्छ ।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्पष्टीकरण सोधिएको विषयमा बुधबार सचिवालय बैठकमा छलफल हुने बताए । ‘स्पष्टीकरणको जवाफ आएपछि धेरै कुरा स्पष्ट होला,’ उनले भने, ‘रामकुमारीजीको अभिव्यक्ति र त्यसपछि सोधिएको स्पष्टीकरणबारे सचिवालय बैठकमा छलफल हुन्छ ।’ उपाध्यक्ष बेदुराम भुसालले पार्टी नीतिविरुद्ध गतिविधि गरेको, अभिव्यक्ति दिएको, अनुशासन उल्लंघन गरेको पाइए स्पष्टीकरण सोध्ने जिम्मा अनुशासन आयोगको भएको बताए । ‘सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोध्ने, बयान लिने र कारबाहीका लागि सिफारिस गर्ने अधिकार आयोगसँग छ,’ उनले भने, ‘रामकुमारीजीलाई पनि त्यही आधारमा स्पष्टीकरण सोधिएको होला ।’ 

भदौ २०७८ मा एमालेबाट बाहिरिएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाँदा झाँक्रीले नेपालको हात समातेर डोर्‍याएको तस्बिर छ्यापछ्याप्ती बनेको थियो । गत वर्ष असारमा भएको महाधिवेशनबाट नेपालले अध्यक्ष पदमा निरन्तरता पाउँदा झाँक्री भने महिला उपाध्यक्षमा पराजित भएकी थिइन् । 

एकीकृत समाजवादीमा दुई धार

अध्यक्ष नेपालविरुद्ध चलाइएको भ्रष्टाचार मुद्दा व्यक्तिगत हो कि पार्टीगत भन्ने विषयमा एकीकृत समाजवादीभित्र दुई धार देखिएको छ । २०६६/०६७ मा नेपाल प्रधानमन्त्री भएका बेला भएको जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादीलाई जोडिएकामा सम्मानित नेता खनाल, स्थायी कमिटी सदस्य झाँक्रीले असन्तुष्टि जनाएका छन् । मुद्दालाई पार्टीगत बनाए पार्टीले सुरु गर्न लागेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ आन्दोलनलाई असर गर्ने उनीहरूको भनाइ छ । 

अध्यक्ष नेपाललाई भ्रष्टाचार मुद्दा लागेको विषयमा पार्टीभित्र दुई मत देखिएको एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि स्विकारे । ‘भ्रष्टाचार मुद्दा गम्भीर विषय भएको हुनाले नैतिक प्रश्न उठ्नु स्वाभाविक हो,’ उनले भने, ‘अध्यक्षले राजीनामा दिनुपर्ने/नपर्ने विषयमा दुई धार छ । यसबारे सचिवालय बैठकमा छलफल चल्दै छ ।’ 

स्थायी कमिटी सदस्य झाँक्रीले विगतमा एमालेकाल र त्यसपछि पनि नेताहरूलाई विभिन्न मुद्दा लागेको उल्लेख गर्दै त्यस्ता मुद्दामा पार्टीलाई मुछ्न नहुने निकटस्थसँग बताउने गरेकी छन् । शाही शासन र त्यसअघि आफूमाथि लागेको राजनीतिक मुद्दासमेत व्यक्तिगत रूपमा निरुपण गरेको उनको भनाइ छ । 

२२ जेठमा मुद्दा दायर भएलगत्तै अध्यक्ष नेपाल प्रतिनिधिसभा सदस्यबाट निलम्बन भएका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुई ठाउँबाट पराजित भएपछि नेपालले नैतिकताका आधारमा एमाले महासचिव पदबाट राजीनामा दिएका थिए । 

यसपालि भ्रष्टाचारको आरोप लागेपछि पनि मुद्दाको किनारा नलागेसम्म उनले अध्यक्ष पद छाड्ने अपेक्षा पार्टीभित्र र बाहिर गरिएको थियो । तर सांसद पदबाट निलम्बन भए पनि उनले अध्यक्ष पद छाडेका छैनन् । बरु अध्यक्ष पद नछाड्ने गरी पार्टीमा ‘बहुमत’ जुटाएका छन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालविरुद्ध मुद्दा चलाएर सरकारले प्रतिशोध साँधेको र पार्टीले त्यसको प्रतिवाद गर्नुपर्ने नेपाल पक्षका नेताहरूको भनाइ छ । प्रतिवाद गर्ने निर्णय पार्टीले गरिसकेको छ ।

कान्तिपुर

Link copied successfully