सविना चेपाङ भन्छिन् : ४ जीपीए आउँदा घरगाउँ नै खुसी छ 

४ जीपीए ल्याउने समुदायकै पहिलो

असार १९, २०८२

रमेशकुमार पौडेल

Savina Chepang says: The village is happy when 4 GPA comes

चितवन — काठमाडौंबाट गजुरीस्थित घर आएकी सविना चेपाङ प्रजा बिहीबार सम्मान थाप्न व्यस्त रहिन् । धादिङ गजुरी गाउँपालिका–१ घर भएकी उनलाई गाउँपालिकाले नै सम्मान गर्‍यो । भर्खर सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सविनाको उत्कृष्ट नतिजा आएको छ । काठमाडौं बसेर पढेकी उनले चार जीपीए ल्याइन् ।

सविना अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङबाट चार जीपीए ल्याउने पहिलो व्यक्ति भएको चेपाङ अगुवाहरूको भनाइ छ ।

सन्तबहादुर प्रजा चेपाङ र ज्ञानुमाया चेपाङकी माइली छोरी सविनाले कक्षा १ र २ गाउँकै विद्यालयमा पढेका हुन् । कक्षा १ मा सुरुमा राम्रो नतिजा आएन । शिक्षकहरूले दोहोर्‍याएर पढ्न सुझाव दिए । सन्तबहादुरले छोरीलाई कक्षा १ मै राखे । अर्को वर्ष छोरी कक्षामा पहिलो भइन् । त्यसपछि कक्षा २ मा पनि पहिलो नै भइन् । पढाइमा राम्रो गरेको देख्दा अभिभावक खुसी थिए । साथै एउटा चिन्ता पनि थपिएको थियो- कक्षा ३ पछि पढ्ने विद्यालय गाउँमा थिएन । एक घण्टा पर जानु पर्दथ्यो ।

घरबाट टाढा जाँदा पढाइ बिग्रेको सन्तबहादुरले देखेका थिए । विद्यालय टाढा भएपछि केटाकेटीले पढाइ बीचमै छाड्ने गर्थे । चिन्तामा परेका सन्तबहादुरलाई राहत दिइन् बहिनी गीता प्रजा चेपाङले । सन्तबहादुरकी बहिनी गीता काठमाडौं एक घरमा काम सघाउँदै बसेकी थिइन् । गीताले दाइकी छोरी सविनालाई पनि काठमाडौं लैजाने मनसाय व्यक्त गरिन् । घरधनीबाट स्वीकृति पाइसकेकी थिइन् । कक्षा २ को परीक्षामा पहिलो स्थान ल्याएर उत्तीर्ण भएपछि फुपूको साथ लागेर सविना काठमाडौं लागिन् ।

काठमाडौं विशालनगरमा बस्दै उनी पञ्चकन्या आधारभूत विद्यालय (तत्कालीन निमावि) मा पढ्ने भइन् । विद्यालयले उनलाई कक्षा ३ मा भर्ना नगर्ने निर्णय गर्‍यो । सुरुआतबाटै पढ्नुपर्ने विद्यालयको राय थियो । सविनालाई पढ्ने रहर थियो । घर छाडेर सहर आइसकेकी थिइन् । फेरि फर्केर जाने मनसाय राखिनन् । जे होला भनेर काठमाडौंमै फेरि कक्षा १ बाटै पढाइ सुरु गरिन् । सोही विद्यालयमा कक्षा ८ सम्म पढिन् । कक्षा ९ मा शिवपुरी माविमा भर्ना भइन् । पढाइ राम्रै थियो । एसईई परीक्षा पनि राम्रै भएको थियो ।

‘आशा गरेअनुरूप रिजल्ट राम्रो आएको छ । यता घरतिर पनि सबै खुसी छन् । घर मात्रै हो र, मेरो त गाउँ नै खुसी भएको छ । उता विद्यालय परिवार पनि अत्यन्त खुसी छन्,’ सविनाले भनिन् । कक्षा ११ र १२ मा कम्प्युटर विषय लिएर पढ्ने सविनाले बताइन् । कक्षा १२ पछि के पढ्ने हो, अहिल्यै सोच्न नसकेको उनको भनाइ छ । कक्षाको नियमित पढाइ र घर आएपछि गर्ने तयारीबाहेक ट्युसन वा कोचिङ नपढेको उनले बताइन् । अहिले १२ कक्षासम्म पढाइ पूरा गर्ने योजना बनाइसकेकी र बाँकी कुरा त्यसपछि सोच्ने उनले बताइन् ।

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले सविना चेपाङ समुदायबाट चार जिपिए ल्याएर एसईई उत्तीर्ण हुने पहिलो विद्यार्थी भएको बताए । चेपाङहरू चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाको पहाडी भेगमा बसोबास गर्ने आदिवासी समुदाय हो । ८३ हजार ३६४ जनसंख्या रहेको चेपाङ समुदायमा साक्षरता दर निकै कम रहेको गोविन्दरामको भनाइ छ । पछिल्लो समय एसईई, कक्षा ११ र १२ तथा स्नातक गर्ने चेपाङ विद्यार्थी बढ्दै गएका छन् । स्नातकोत्तर गर्ने भने नगण्य छन् । ‘त्यसभन्दा अगाडि पढ्ने त छैनन् नै भन्नु परे हुन्छ’, गोविन्दरामले भने ।

‘डाक्टर, इन्जिनियर बनाउन सकिएको छैन । एसईईमा राम्रो नतिजा आउन थालेपछि हामी धेरै आशावादी भएका छौं,’ संविधानसभा सदस्यसमेत रहेका चेपाङ संघका अध्यक्ष गोविन्दरामले बताए । हालै मात्र शिक्षामन्त्रीलाई भेटेर उच्च शिक्षामा चेपाङ समुदायका लागि राज्यले लगानी बढाउन माग पनि गरिएको जानकारी उनले दिए । चेपाङ समुदायका धेरै व्यक्ति आर्थिक अभावमा रहने भएकाले पढाइ राम्रो गरेका विद्यार्थीलाई सरकारले सहयोग गर्नुपर्ने गोविन्दरामको भनाइ छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully