नेपालका जेलमा १५ सय बढी विदेशी

असार १९, २०८२

विवेक पोख्रेल

More than 1,500 foreigners in Nepal's jails

काठमाडौँ — नेपालको कानुनविपरीत काम गरेको आरोपमा १ हजार ५ सय १४ जना विदेशीलाई नेपाली कारागारमा राखिएको तथ्यांक कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ । तीमध्ये ८ सय ५६ जना थुनुवा हुन् भने ६ सय ५८ जना अदालतले सजाय तोकिसकेका कैदी रहेका छन् ।

कारागारमा रहेका विदेशीमा १ हजार ५ सय ११ जना पुरुष छन् भने महिलाको संख्या ३ मात्र रहेको विभागले जानकारी दिएको छ । 

थुनुवा र कैदीहरू देशभरिका विभिन्न कारागारमा राखिएको छ । कारागारमा रहेकामध्ये धेरैजसो लागूऔषध कारोबार तथा ओसारपसारजस्ता गम्भीर आपराधिक अभियोगमा जेल जीवन बिताइरहेको विभागको तथ्यांक छ । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाली र विदेशी सबै जना कारागारमा एउटै सेवा सुविधामा रहेका हुन्छन् ।

‘नेपाली थुनुवा र कैदीलाई जे व्यवहार हुन्छ, विदेशीको हकमा पनि त्यही लागू छ,’ उनले भने, ‘तर उनीहरुले सजाय भुक्तान गरेपछि भने नेपालीको हकमा परिवारको जिम्मा लगाइन्छ भने विदेशीको हकमा  अध्यागमन विभागलाई जिम्मा दिइन्छ ।’

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully