धुलिखेल-साँगा सडक स्तरोन्नतिको काम रोकियो

असार १९, २०८२

रासस

Dhulikhel-Sanga road upgradation work stopped

काभ्रेपलाञ्चोक — स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सञ्चालन हुने आयोजनाले जनाएको छ । 

उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिए पनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन । 

सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । उनका अनुसार सडक विस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा बिजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो ।

बनेपा सहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमि सडकको ढल निर्माणकार्य भइरहे पनि वर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ । पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि चार महिनादेखि विस्तारकार्य नै रोकिएको थियो । सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (एक सय ५० फिट) मध्ये पनि एक सय ४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माणकार्य अवरुद्ध पारेका हुन् । 

सडकको डिजाइन अनुसार नै सडकको बीचबाट बराबर छुट्याउने भएकाले स्थानीयले घरको दुरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको खनालले बताए । उनका अनुसार पटकपटक गरिएको सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल बिस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ । पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमासमेत निर्माण कार्य रोकिँदै आएको थियो । 

रासस

Link copied successfully