कर्णाली विकास बैंक घोटाला प्रकणमा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ

असार १८, २०८२

रासस

UML central member Pashupati Dayal Mishra arrested in Karnali Development Bank scam case

नेपालगञ्ज — नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ ।  

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दिए। 

'बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,' उनले भने। विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य छन्। मधेस आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए। 

स्वतन्त्र राजनीतिक समूहबाट उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए। पछि उनी एमाले प्रवेश गरेका थिए। मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउपर्नेको सङ्ख्या तीन पुगेको छ । 

यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । 

उक्त बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानविन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो । 

रासस

Link copied successfully