तरुण दलका दुई केन्द्रीय सदस्यले तोडे आमरण अनशन

असार १८, २०८२

कुलचन्द्र न्यौपाने

Two central members of Tarun Dal broke their hunger strike

काठमाडौँ — अधिवेशनको सुनिश्चिता भएपछि तरुण दलका दुई केन्द्रीय सदस्यले चार दिनदेखिको आमरण अनशन तोडेका छन् । 

तरुण दलका केन्द्रीय सदस्यद्वय रोदन राई र अम्बिका बाँस्कोटा विद्धान गुरुङ नेतृत्वको चार सयभन्दा बढी सदस्यको केन्द्रीय कमिटीलाई भंग गरेर महाधिवेशनको सुनिश्चिता सहितको अर्को तदर्थ समिति बनाउन माग गरी आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसेका थिए ।

तरुण दलले नभएर पार्टीले अधिवेशन गराउने सुनिश्चिता गरेपछि उनीहरुले अनशन त्यागेका हुन् । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आगामी मंसिर २६–२८ गते सहमहामन्त्री डिना उपाध्यायको नेतृत्वमा रहेको केन्द्रीय निर्देशन समितिले नै अधिवेशनको सम्पूर्ण काम गर्ने गरी पार्टीले निर्देशन दिएको हो ।

महाविधेशन गराउने कार्यदेशसहित २०७८ बाट गुरुङ नेतृत्वमा तदर्थ समिति गठन गरिए पनि उक्त कमिटीले एउटा जिल्लामा पनि अधिवेशन गराउन सकेको छैन । 

गुरुङ नेतृत्वको कमिटीलाई ६ महिनाको समय थपेर पार्टीले नै अधिवेशनको जिम्मा लिने भएको हो । ‘निर्देशन समितिलाई पार्टीले कार्यादेशसहित अधिवेशनको जिम्मेवारी दिइसकेको छ, पार्टीले अधिवेशन गराउँछ,’ उनले भने । तरुण दलले ७ वर्षदेखि नै अधिवेशन गर्न सकेको छैन ।

केन्द्रीय कार्यसमितिले अन्य भ्रातृसंस्थाहरुलाई पनि अधिवेशनका लागि अन्तिम मौका भन्दै ६ महिनाको म्याद थप्ने भएको छ । पोखरामा ०७२ सालमा भएको अधिवेशनबाट जितजंग बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । महाधिवेशनमा चुनाव हुन नदिइकनै नेताहरुले भागबन्डाका आधारमा नेतृत्व र केही पदाधिकारीको चयन गरेका थिए । उक्त कार्यसमितिले पूर्णता नपाउँदै ०७८ को पार्टी महाधिवेशनपछि बस्नेत नेतृत्वको कार्यसमिति भंग गरी गुरुङको अध्यक्षतामा नयाँ तदर्थ समिति बनाइएको थियो ।

विधानविपरीत मनपरी ढंगबाट संस्था चलाएको, संगठन विस्तारको नाममा आफू निकटका कार्यकर्ताहरुमार्फत सबै जिल्लामा विद्रोहको गराउने काम गरिएको, पार्टीको निर्णयविपरीत एकलौटी ढंगले विवादस्पद निर्णय गरिएको भन्दै अनशनकर्ताद्वयले गुरुङ नेतृत्वको तदर्थ समिति विघटनको माग गर्दै आएका थिए ।

तरुण दलमात्रै होइन, कांग्रेसका अधिकांश भ्रातृसंस्थाहरु वषौंदेखि अधिवेशन गराउन नसकेर अस्तव्यस्त छन् । ०६४ साल मंसिरमा तदर्थ समितिबाट सुरु भएको किसान महासंघ १८ वर्षदेखि तदर्थवादमा चलेको छ । स्थापनाकालदेखि नै यसको अधिवेशन हुन सकेको छैन । 

थारु र खेलकुद संघले स्थापनाकालदेखि नै तदर्थवादमा चलाइरहेका छन् । महिला संघले २०७३, दलित संघले २०६९ मा अधिवेशन गरेपछि त्यसयता अर्को अधिवेशन भएको छैन । 

तीन वर्ष कार्यकाल रहने कांग्रेसका १३ भ्रातृसंस्था मध्ये अधिकांश तदर्थवादमा चलेका छन् । 

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully