काठमाडौँ — नेपाली कांग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै 'कुलिङ अफ पिरियड'को प्रावधानमा षड्यन्त्र भएको बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले कुलिङ पिरियडको कानुन निर्माणको क्रममा ठूलो जालझेल र षड्यन्त्र भएको दाबी गरे। यो काममा एक–दुई जनाको मात्रै हात नभई ठूलो समूहको चलखेल रहेको उल्लेख गरे।
सांसद थानीका अनुसार कुलिङ पिरियडमा कर्मचारीहरूले देउसी भैलो खेलेको आफूले देखेको र त्यही समय समितिको सभापतिमा टाठा–बाठा मानिने व्यक्ति रहेका कारण जिम्मेवारीबाट पन्छन नमिल्ने बताए। उनले समिति सभापति रामहरि खतिवडालाई 'मलाई जानकारी भएन' भनेर नपन्छन आग्रह गरे।
उनले भने, 'अहिले आएर कुलिङ पिरियडका सन्दर्भमा अत्यन्तै जालझेल र षड्यन्त्र भएको छ। राज्य व्यवस्था समितिबाटै षड्यन्त्र गर्ने काम भएको छ भन्ने सुन्दा मलाई दुःख लागेको छ, किनकि म स्वयं पनि बारम्बार समिति बैठकमा सहभागी भएको व्यक्ति हुँ। कुलिङ पिरियड हामीले राखेको जस्ताको त्यस्तै हो। तपाईँ समितिको पुरानो मान्छे हो, त्यसमा ध्यान किन दिन सक्नुभएन? तपाईँ टाठा–बाठा मध्येकै सभापति हो। कर्मचारीले देउसी भैलो खेलेको पनि देखिएको छ।'
सांसद थानीले यस घटनाले संसद्को मर्यादा गुमाएको टिप्पणी गरे।
