एमाले सांसदले भने : अब सभापतिको कुर्सीमा बस्न सुहाउँदैन

असार १८, २०८२

कान्तिपुर संवाददाता

The UML MP said: It is not suitable to sit in the chairman's chair now

काठमाडौँ — नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।

समितिको बुधबारको बैठकमा बोल्दै उनले समिति सभापति खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका हुन्। 'कुलिङ अफ पिरियड'बारे भएको चलखेलको विषय उठाउँदै उनले अब समिति सभापति र सचिवको नेतृत्वमा समितिको बैठक सञ्चालन हुन नसक्ने बताए।

सांसद राईले समितिले निर्णय गरेर पठाएको विषयमा जालझेल गर्ने अधिकार सभापति वा सचिव कसैसँग नभएको बताए । जनताबाट चुनिएका प्रतिनिधिहरूको अपमान गर्न कुनै पदाधिकारीलाई अधिकार छैन भन्ने धारणा उनले राखे।

उनले भने, 'यो बैठकमा हाम्रो सभापतिज्यूले त्यो कुर्सीमा बस्न सुहाउँछ कि सुहाउँदैन? किनभने यो समिति सार्वभौम थियो। समितिले यत्रो निर्णय गरेको कुरा जालझेल गरेर सदस्यहरूको अपमान गरियो। लोक के भन्छ आज? गम्भीर प्रश्न उठेको छ। हामीले गरेको निर्णय तलमाथि गर्ने अधिकार तपाईँलाई कसले दियो? म सभापतिज्यूलाई भन्न चाहन्छु—तपाईँले छोडिदिनुपर्छ। तपाईँले सक्नुभएन। यत्रो सदस्यहरूले गरेको निर्णय तपाईँले तलमाथि गर्ने, जालझेल गर्ने, जनताबाट चुनिएका यत्रा प्रतिनिधिहरूको अपमान गर्ने अधिकार तपाईँलाई छैन।'

सांसद राईले सहज रूपमा समितिको बैठक अघि बढाउने वातावरण सभापतिले स्वयं बनाइदिनुपर्ने माग गरे।

कान्तिपुर

Link copied successfully