कर्णालीका भान्सामा महाराष्ट्रको आलु, कानपुरको साग

असार १८, २०८२

कृष्णप्रसाद गौतम

Potatoes from Maharashtra, greens from Kanpur in the kitchen of Karnali

सुर्खेत — जुम्लाको चन्दननाथ नगरपालिकास्थित उर्थुकी दिलसरा बुढाले वर्षायाममा झन्डै दुई लाख मूल्यको साग, आलु, काउली, बन्दा, टमाटर, हरियो खुर्सानीलगायत तरकारी बिक्री गर्छिन् । उनको ७ रोपनी बारी छ, हिउँदमा सिँचाइ सुविधा नहुँदा आलुबाहेक अरू तरकारी फल्दैन । हिउँदमा भारतबाट आएकै तरकारीको भर छ ।

रुकुम पश्चिमको सानीभेरी नगरपालिका–३ की पम्फा बुढाले पनि वर्षायाममा करिब ३ रोपनी जग्गामा तरकारी फलाउँछिन्, तर हिउँदमा भारतबाटै आएको प्याज, लसुन, बन्दा, खुर्सानीलगायत तरकारी उनको भान्सामा पाक्छन् । तरकारीमा आत्मनिर्भर नहुँदा कर्णालीका सबैजसो जिल्लाका भान्सा भारतीय तरकारीको भरमा छन् । 

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म कर्णालीबाट करिब १७ करोडको कृषिजन्य वस्तु बाहिर जाँदा झन्डै ९३ करोड रुपैयाँको तरकारी भित्रिएको छ । 

नेपालगन्जस्थित प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा भारतबाट करिब २० करोड रुपैयाँ बराबरको २६ हजार मेट्रिक टन प्याज भित्रिएको छ भने ८० मेट्रिक टन ताजा तरकारी । ‘ताजा तरकारी नानपारा, बहराइच, लखनउका ठूला मन्डीबाट आउँछन्,’ केन्द्रका सूचना अधिकारी बल रानामगर भन्छन्, ‘त्यहाँका व्यापारीले १० देखि २० किमि टाढाका गाउँबाट खरिद गरी ल्याएको तरकारी नेपालगन्ज नाका भएर भित्रिन्छ, त्यहाँबाट आएका केही तरकारी जहाज चढेर हुम्ला, मुगु र डोल्पासम्म पुग्छन् ।’ उनका अनुसार १५ महिनाअघिसम्म रेलबाट पनि तरकारी आउने गरेको थियो । नेपालतर्फ लाइन विस्तार गर्न लागिएकाले अहिले रेल सेवा भने बन्द छ । महाराष्ट्रको आलुदेखि कानपुरका सागसम्म कर्णालीका भान्सामा पाक्ने उनी बताउँछन् ।

चालु वर्षको नौ महिना अवधिमा ३ हजार १ सय मेट्रिक टन (झन्डै २७ करोडको) चना, ८ सय ११ मेट्रिक टन (झन्डै १२ करोडको) केराउ र ७६ मेट्रिक टन (झन्डै १७ करोडको) खुर्सानी नेपाल भित्रिएको छ । त्यस्तै ३ सय ५३ मेट्रिक टन (झन्डै २६ करोडको) स्याउ, ५ सय ६० मेट्रिक टन (झन्डै १५ करोडको) आँप, ५६ मेट्रिक टन (झन्डै २ करोडको) सुकेको अंगुर, १ हजार ८९ मेट्रिक टन (झन्डै ८ करोडको) ताजा अंगुर र २ हजार मेट्रिक टन (झन्डै १२ करोडको) केरा नेपाल आएको छ । 

त्यसमध्ये करिब ४० प्रतिशत कर्णालीमा जाने गरेको क्वारेन्टिन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत कफिल अहमद बताउँछन् । ‘आसपासका तराईका जिल्ला ताजा तरकारीमा ८० प्रतिशत आत्मनिर्भर छन्, त्यसैले बढीजसो भारतीय तरकारी कर्णालीका हिमाली र पहाडी जिल्लामा जान्छ,’ उनी भन्छन् । नेपालगन्जका तरकारी थोक बिक्रेता भवानी गुप्ता नेपालगन्ज भित्रिएका भारतीय तरकारी आफूले कर्णालीका सबैजसो जिल्ला सदरमुकाममा पुर्‍याउने गरेको बताउँछन् । 

मुगु सदरमुकाम गमगढीमा जताततै भारतीय तरकारी रहेको स्थानीय अगुवा रणसिंह शाही बताउँछन् । उनका अनुसार स्थानीय तरकारी महँगो हुने गरेकाले पनि बाहिरको तरकारीले बजार लिएको हो । ‘वर्षाका बेला सागपात, टमाटर, बन्दा, काउली उत्पादन हुन्छ, त्यो पनि ३/४ महिनाभन्दा बढी पुग्दैन,’ उनी भन्छन्, ‘यहाँ उत्पादन भएको उही तरकारी प्रतिकिलो २ सयभन्दा बढी पर्छ भने भारतबाट आएको त्यही तरकारी सय रुपैयाँमै पाइन्छ, प्रतिस्पर्धा गर्न नसकेर स्थानीय धेरै किसानले तरकारी लगाउनै छाडिसके ।’ भारत वा तराईबाट ल्याइएका तरकारी किलोमै ५० देखि सय रुपैयाँ सस्तो हुने मुगुस्थित शीताष्मत खाद्य एन्ड सप्लायर्सका प्रोप्राइटर राष्ट्रराज कार्की बताउँछन् ।

हुम्लामा यसअघि जहाजबाट आउने भारतीय तरकारी अहिले गाडीमार्फत सिमकोटसम्म पुग्न थालेको छ । ‘सडक सुविधा पुगेपछि एक वर्षयता तरकारी गाडीमार्फत आउँछ, फलफूलका लागि त अझै पनि जहाजकै भर पर्नुपरेको छ,’ सिमकोट गाउँपालिकाका कृषि शाखा संयोजक हेमन्त पुरी भन्छन्, ‘अत्यधिक चिसो हुने भएकाले हिउँदमा तरकारी फल्दैन, स्थानीय उत्पादनले चार महिनामात्र माग धानेको छ, अरू सबै नेपालगन्ज र सुर्खेतबाट आउने तरकारीको भर हो ।’ उनका अनुसार सुर्खेतबाट ३ सय ३४ किलोमिटर दूरी पार गरी तरकारी गाडीबाट सिमकोट पुग्छ । यसअघि १ सय १० रुपैयाँ प्रतिकिलो हवाई भाडा तिरेर तरकारी सदरमुकाम पुग्ने गरेकोमा अहिले सडक मार्गबाट ३० देखि ४० रुपैयाँ प्रतिकिलो भाडा तिरेर तरकारी पुग्ने गरेको उनले जानकारी दिए । हुम्लामा असारदेखि असोजसम्म मात्र तरकारी उत्पादन हुन्छ ।

हुम्लामा नेपालगन्ज र सुर्खेतबाट दैनिक ३ देखि ४ क्विन्टल तरकारी आउने गरेको हुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नाम्ग्याल तामाङ बताउँछन् । ‘मानसरोवर—कैलाश तीर्थयात्राको सिजनमा त भारतीय तरकारी तिब्बत सीमाको हिल्सासम्मै पुग्छ, तर अहिले नाका बन्द छ,’ उनी भन्छन्, ‘सदरमुकाम आएको तरकारी स्थानीयले ३०—४० किलोमिटर खच्चडमा बोकाएर सर्केगार्ड, चंखेली, अदानचुलीसम्म पुर्‍याउने गरेका छन् ।’

उनका अनुसार स्थानीय उत्पादनको मूल्यभन्दा भारतीय तरकारीको मूल्य सस्तो पर्ने भएकाले किसानले तरकारी उत्पादन गर्न छाडेका छन् । स्थानीय काउली, बन्दा, टमाटरलगायत तरकारी प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाँमा पाइने भए पनि बाहिरबाट आउने तरकारी सयदेखि डेढ सय रुपैयाँ प्रतिकिलोमा पाइन्छ । ‘चिसो ठाउँ भएकाले एक त उत्पादन कम हुन्छ, त्यसमा पनि भारतीय तरकारी सस्तोमा पाइन्छ,’ उनी भन्छन्, ‘त्यसैले अधिकांश किसानले तरकारी खेती गर्न छाडिसके ।’

मुलुकमै पहिलोपल्ट प्रांगारिक जिल्ला घोषणा गरिएको जुम्लाका गाउँगाउँसम्म पनि भारतीय तरकारी पुग्छन् । भारतीय तरकारी जुम्ला पुग्दा मालवाहक गाडीले कर्णाली राजमार्गको २३२ किलोमिटर दूरी पार गर्छन् । जुम्लाको आलु सिजनमा जिल्ला बाहिर बिक्रीमा जाने गरे पनि बेमौसममा भारतको रुपैडियाबाट जुम्ला पुग्ने गरेको राधा तरकारी तथा फलफूलकी सञ्चालक राजकन्या न्यौपानेले बताइन् । उनका अनुसार हिउँदमा हरियो साग, काउली, बन्दा, भान्टा, प्याज, मुला लगायतका दैनिक उपभोग्य तरकारी सदरमुकाम खलंगाबाट ५० किलोमिटर परका गाउँसम्म पुग्ने गरेको छ ।

जुम्लामा वार्षिक ५ सय २५ हेक्टरमा विभिन्न तरकारी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा बताउँछन् । उनका अनुसार जिल्लाभरिमा २ हजार ५ सय मेट्रिक टन हरियो तरकारी उत्पादन हुन्छ । तर कति तरकारी बाहिरबाट आउँछ भन्नेबारे यकिन तथ्यांक नभएको उनले बताए ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully