बस्नेतलाई थापाको जवाफ- 'फोहोर चलाएर म पनि फोहोरी बन्दिनँ !’

असार १८, २०८२

कान्तिपुर संवाददाता

Thapa's answer to Basnet - 'I don't become dirty by using garbage!'

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको आरोपलाई 'गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित' भएको भन्दै फोहोरको संज्ञा दिएका छन्।

टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय कार्यसमितिको जारी बैठकमा महामन्त्री थापाले संसद्‌मा बोलेका कारण आफूमाथि अख्तियारले मुद्दा चलाएको आरोप लगाएका थिए। थापामाथि उनले अश्लील, गालीगलौज र धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएका थिए।

बस्नेतको आरोपको खण्डन गर्दै महामन्त्री थापाले फोहोरलाई चलाएर आफू फेरि फोहोरी बन्न नचाहेको बताएका छन्। थापाले बस्नेतले लगाएका आरोपलाई 'राजनीतिको तह र सभ्यताको सीमा नाघेको भनेका छन्।

उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, 'बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु–फोहोर चलाए आफैं फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।'

थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरेका छन्। उनले भने, 'म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुँकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो ।'

टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री बस्नेतलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। उनलाई आइतबार अदालतले २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। 

कान्तिपुर

Link copied successfully