'कुलिङ अफ पिरियड' राखे राजीनामा दिन्छु भनेर देउसी भैलो खेलेको देखियो : अनिता देवी

असार १८, २०८२

कान्तिपुर संवाददाता

It was seen that Deusi played the role of 'cooling off period' and resigned: Anita Devi

काठमाडौँ — संघीय निजमती सेवा सम्नब्धी विधेयकमा २ वर्षे 'कुलिङ अफ पिरियड'को व्यवस्था राखेमा राजीनामा दिन्छु भनेर उच्च पदस्थ कर्मचारीले अभिव्यक्ति दिएको र शीर्ष नेताकहाँ दबाब दिएको कुरा जनमत पार्टीकी सांसद अनिता देवीले बताएकी छन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद अनिता देवीले 'कुलिङ अफ पिरियड' मा मुख्यसचिव र सचिवहरूको असन्तुष्टि रहेको स्मरण गरेकी हुन् । 

विधेयक संसद्मा दर्ता गर्नेबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेकी अनिता देवीले भनिन्, 'कर्मचारीले 'कुलिङ अफ पिरियड' राखिए राजीनामा दिन्छु भनेर नेताहरूकोमा देउसी, भैलो खेलेको देखिएको थियो ।'

सांसद अनिता देवीले उच्च पदस्थ कर्मचारीले तल्लो तहका कर्मचारीलाई मात्र 'कुलिङ अफ पिरियड' लाग्ने प्रावधान घुसाएको बताइन् । तर, तल्लो तहको कर्मचारीले त्यसरी राजीनामा गरेमा अवस्था के हुन्छ भनेर उनले मुख्यसचिव र सचिवहरूलाई प्रश्न गरिन् । 'उपसचिवभन्दा तलका कर्मचारीले राजीनामा दिए उहाँहरू (मुख्यसचिव र सचिवहरू) ले १ घण्टा पनि थेग्न सक्नुहुन्छ ? उहाँहरूको हतियार भनेको उपसचिवभन्दा तलको कर्मचारी हो,' उनले भनिन्, 'कुलिङ अफ पिरियडमा भएकोलाई त्रुटि नभन्नु, जालझेल र षडयन्त्र भन्नुस् ।'

निजामती कर्मचारीको विषयमा आएको विधेयकमा यस्तो जालझेल र षडयन्त्र गरिएको बताउँदै प्रहरी लगायतका विधेयकमा कसरी काम गर्ने भन्ने प्रश्न उठेको अनिता देवीको भनाइ थियो । यसले कर्मचारी र संसदीय समितिबीचको सम्बन्धमा पनि दरार आएको हो कि भन्ने लागेको उनले बताइन् । 

सांसद अनिता देवीले निजामती विधेयकमा षडयन्त्र गरिएको बताइन् । प्रतिनिधिसभाबाट पारित विधेयकलाई अब राष्ट्रिय सभाबा सच्याएर अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । त्यसका लागि मुख्यसचिव लगायत कर्मचारीले पनि साथ दिनुपर्ने बताइन् । प्रतिनिधिसभामा भएको विधेयकमाथिको जालझेल र षडयन्त्रले सांसदसँगै कर्मचारीमाथि पनि प्रश्न उठेको बताइन् । 

कान्तिपुर

Link copied successfully