गिरिजाबाबु नभएको भए बृहत् शान्ति सम्झौता हुन्थेन : आचार्य

असार १८, २०८२

कान्तिपुर संवाददाता

If there was no Girijababu, there would not have been a comprehensive peace agreement: Acharya

काठमाडौँ — नेपाली कांग्रेसका नेता महेश आचार्यले लोकनायक स्वर्गीय गिरिजाप्रसाद कोइरालामा पार्टी निर्माणका लागि चाहिने सबै गुण भएको स्मरण गरेका छन्।

कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा बुधबार महामन्त्री गगनकुमार थापाको निजी सचिवालयमा आयोजित ‘लोकतान्त्रिक गणतन्त्र र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा बोल्दै नेता आचार्यले गिरिजाबाबु कार्यकर्तादेखि जनतासम्म जोडिएरै सत्ता चलाउन सफल उच्च राजनीतिज्ञ भएको बताए।

उनले भने, ‘उहाँको कामलाई हेर्दा एउटा पार्टी निर्माणका लागि चाहिने सबै गुण गिरिजाबाबुमा थियो। २१ वर्षको उमेरदेखि निरन्तर पार्टीमा होमिएका गिरिजाबाबु २००३ सालको मजदूर आन्दोलनको नेतृत्वदेखि ०६५ सालमा प्रचण्डलाई सत्ताको चाबी हस्तान्तरण गर्दासम्म जनतासँगै रहनुभयो ।’

नेता आचार्यले कोइरालाले राजनीतिक दल चलाउन जनतासँग रहेरमात्र नहुने रहेछ भन्ने बुझेरै चार वटा चरण पार गरेर आएको नेता भन्दै यस्तो क्षमता नेपाली राजनीतिमा अन्य कसैसँग नभएको बताए। उनले भने, ‘जनतासँग रहनु, जनताका कुरा सुन्नु, जनताका कुरा सम्बोधन गर्न नीति र कार्यक्रममा अभिलेख गर्नु अनि त्यसलाई कार्यान्वयन गर्न सरकारसँग समन्वय गर्नु नै गिरिजाबाबुको क्षमता थियो ।’

गिरिजाबाबु नभएको भए विद्रोही माओवादीसँग शान्ति सम्झौता हुन नसक्ने ठोकुवा गर्दै आचार्यले हरेक चरणमा सुझबुझपूर्ण तरिकाले चलकै कारण संविधान सभा सफल भएको र मुलुकमा राजतन्त्र फालेर गणतन्त्र ल्याउन सफल भएको दाबी गरे । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद प्रतिमा गौतमको सभापतित्वमा भएको कार्यक्रममा उनले गिरिजाबाबु आफ्नो पार्टीभित्रको गुटलाई मात्र नभइ अन्य दललाईसमेत राज्यका एजेन्डामा समेटेर लैजान सक्ने नेता भएको स्मरण गरिन् । 

त्यस्तै, अग्रज पत्रकार विष्णु निष्ठुरीले कांग्रेसको पहिलेको ओझ सकिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘पहिले कांग्रेसमा संस्कार थियो, ज्ञान थियो, विचार थियो, आस्था थियो । त्यसले नै कांग्रेसलाई धानेको थियो । अहिले ती छैनन् धनको प्रभाव बढेको छ ।’ 

कान्तिपुर

Link copied successfully