प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

असार १८, २०८२

रासस

Discussion on the Guidelines on the Work, Duties and Rights of Spokespersons

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका २०८२ मस्यौदामाथि छलफल भएको छ ।

मन्त्रालयमा आज नेपाल सरकारका निकाय र राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता तथा सूचना अधिकारीको सुझाव सङ्कलन गरिएको थियो ।  निर्देशिकामा प्रवक्ताहरूले सूचना प्रदान गर्न निर्वाह गर्नुपर्ने दायित्व, कर्तव्य र क्षेत्राधिकारको उल्लेख गरिएको थियो । 

उक्त छलफलमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नागरिकलाई सूचनाको हक प्रदान गर्ने दायित्वलाई सवल र प्रवल बनाउन प्रवक्ताको भूमिका अहम हुने बताइन्। उक्त मस्यौदामा प्राप्त सबैको व्यावहारिक तथा सैद्धान्तिक सुझाव लिएर पूर्ण ड्राफ्ट तयार पार्ने बताइन्। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त गगन विष्टले सूचनाको हकबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

उनले प्रवक्ता र सूचना अधिकारी उस्तै सुनिए पनि कार्यसम्पादनको हकमा केही आंशिक भिन्नता रहेको बताए। प्रवक्ताले सम्बन्धित निकायको अवस्था, पूर्वसूचना र विषयवस्तुमा आफ्नो धारणा मौखिक वा लिखित रूपले दिनसक्ने बुझिन्छ भने सूचना अधिकारीले कार्यालयमा निर्णय भएका कुराहरूको लिखित दस्तावेजको दिनुपर्ने दायित्व बुझिने आयुक्त विष्टले बताए।

आयुक्त विष्टले नेपालमा सूचनाको दस्तावेज व्यवस्थित हुन नसक्दा सूचना प्रवाहमा प्रवक्तालाई चुनौती सामना गर्नुपरेको बताए। कार्यक्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका २०८२ पेस गरेका थिए। छलफलमा सहभागी संवैधानिक आयोगका प्रवक्ताहरूले भने आयोगका प्रवक्ताहरूको हकमा बेग्लै स्पष्ट धारणा आवश्यक रहेको बताएका थिए।

रासस

Link copied successfully