काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले 'कुलिङ अफ पिरियड'बारे षड्यन्त्र भएको बताएका छन्। बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिङ पिरियडको विषय आजको नभई पूर्वदेखि चल्दै आएको र अहिलेको अवस्था केवल छेडखानी मात्र नभई योजनाबद्ध षड्यन्त्र भएको दाबी गरे।
उनले देशलाई सुधार्ने हो भने आफ्नो नभई नेपाल आमाको अनुहार हेर्नुपर्ने बताए ।
उनले 'नजानेर त्रुटि भयो' भन्ने कुरा नरहेको भन्दै यस विषयमा संलग्नहरूमाथि छानबिन गरी कारबाही हुनुपर्ने आवश्यकता रहेको बताए ।
प्रमुख सचेतक पाण्डेले भने, 'कुलिङको विषय आजको होइन। यो केवल छेडखानी होइन, षड्यन्त्र हो। मुख्यसचिवदेखि सहसचिवसम्मको भूमिका स्पष्ट हुनु आवश्यक छ। मैले हरेक दिनको बैठकमा यहाँहरूको अनुहार हेरेको छु, बोलेको छु। देशलाई सुधार्ने हो भने नेपाल आमाको अनुहार हेर्नुपर्छ, आफूतिर होइन। यसमा त्रुटि नजानेर भएको होइन। को–को सहभागी छन्, यसको छानबिन हुनुपर्छ।'
उनले विधेयक अन्तिममा समिति सदस्यहरूलाई पढ्नै नदिइएकोप्रति आपत्ति जनाए।
