'कुलिङ अफ पिरियड'बारे माओवादीको आरोप : यो सुनियोजित षड्यन्त्र हो, सभामुखले जिम्मा लिनुपर्छ

असार १८, २०८२

कान्तिपुर संवाददाता

Maoist's allegation about 'cooling off period': It is a well-planned conspiracy, Speaker should take responsibility

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले 'कुलिङ अफ पिरियड'मा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले नैतिकताको आधारमा संसद्को नेतृत्वले (सभामुख देवराज घिमिरे) यसको जिम्मेवारी लिनुपर्ने धारणा सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समितिमा भएको सहमतिअनुसार कुलिङ पिरियडसम्बन्धी प्रावधान सदनमा प्रस्तुत नहुँदा गम्भीर प्रश्न उठेको बताए। उनले यो विषय केवल कानुनी वा प्रक्रियागत नभई गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न भएको उल्लेख गरे।

उनले भने, 'कुलिङ पिरियडसम्बन्धी जे सहमति समितिमा भएको थियो, सदनमा प्रस्तुत गर्दा त्यसमा फरक गरिएको छ। समितिमा पारित भइसकेको विषय सदनमा कसरी फरक बनाएर लगियो? परस्पर विरोधी प्रावधान कसले थप्यो? यस्ता अनेक गम्भीर प्रश्न उठेका छन्।'

प्रवक्ता सापकोटाका अनुसार, यस घटनाले संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि गम्भीर प्रश्न उठाएको छ। यो घटनाले सार्वभौम संसद्को आत्मामाथि प्रहार गरेको, संसदमाथि धोका र मानमर्दन गरेको, र संविधानको मर्म र भावना माथि चोट पुर्‍याएको आरोप उनले लगाए।

उनले थपे, 'सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात भएको छ। यस्तो जालसाजीले संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौती दिएको छ। विधेयक कार्यसूचीदेखि पारित गर्ने क्रमसम्मको प्रक्रिया हेर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुःसाहस होइन, यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो।'

माओवादी केन्द्रले यस प्रकारको गम्भीर अपराधको घटनाको छिटोभन्दा छिटो सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

प्रवक्ता सापकोटाले शिक्षक महासंघसँग भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्न पनि माग गरेका छन्।

कान्तिपुर

Link copied successfully