काठमाडौँ — राष्ट्रिय युवा परिषद्को आयोजनामा काठमाडौंमा संघीय तहको युवा उद्यशीलता प्रवर्द्धन सम्मेलन-२०८२ सम्पन्न भएको छ । विभिन्न प्रदेशमा उद्यमशीलता सम्मेलन सकाएर परिषद्ले केन्द्रीय तहमा सम्मेलन गरेको हो । सम्मेलन सोमबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका थिए ।
सम्मेलनमा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवामा रहेका उद्यमी सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्रनिर्माणमा परिचालन गर्नुपर्ने बताए । जलविद्युत्, पर्यटन, जडिबुटी लगायतका क्षेत्रसँग सम्बन्धित उद्यमलाई प्रोत्साहन गर्दै दिगो विकास लक्ष्यमा जोडदिनुपर्ने उनको भनाइ थियो ।
उनले युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनले युवामा उद्यमी बन्ने सोच, आर्थिक उपार्जनमा संलग्नता र समृद्ध राष्ट्र निर्माणमा युवाहरूको भूमिकालाई उजागर गर्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सिप, उद्यमशीलता र रोजगारीलाई सँगसँगै लानुपर्ने बताए । सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन दशक मनाउन लागेको चर्चा पनि गरे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रालय स्टार्टअप र युवा उद्यमशीलता प्रवर्द्धनमा लागिरहेको जानकारी दिए । उनले भने, 'उद्योग मन्त्रालयले युवालाई व्यावसायिक परियोजनाका आधारमा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिन सुरुवात गरेको छ ।'
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आयातले धान्दै आएको अर्थतन्त्रलाई उद्यमशीलता प्रवर्द्धन गरी निर्यातमूलक बनाउन पहल गर्नुपर्नेमा जोड दिए । उनले युवा उद्यमीहरुलाई उत्प्रेरणा जगाई नयाँ उद्यम विकास गर्न र नयाँ स्टार्टअपहरुलाई लगानीकर्ता खोज्न यस्ता सम्मेलनको विशेष महत्व रहने बताए ।
'समृद्धिका साझा सवाल' विषयक प्यानल सत्रमा सांसदहरु पदम गिरी, उदयशमशेर राणा, माधव सापकोटा र सोविता गौतम रहेका थिए । उनीहरुले उद्यमशीलताको बाटोबाट समृध्दिको यात्राबारे धारणा राखेका थिए ।
'युवाका लागि अबको निकास : रोजगारी, उद्यमशीलता र सिप विकास' विषयक प्यानल छलफलमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स अनिल केसरी शाहले युवा उद्यमशीलता प्रवर्द्धनबारे चर्चा गरे ।
यसैगरी स्टार्टअप, सहुलियत कर्जा र वित्तीय पहुँचबारे राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनाल, नविल बैंकका सीईओ मनोज ज्ञवाली र उद्यम अभियन्ता रन्जीत आचार्यले अलग-अलग प्रस्तुतीकरण दिए ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तीनै तहका सरकारबाट सञ्चालित युवा लक्षित कार्यक्रमको प्रभावकारी र नतिजामुखी कार्यान्वयनमा जोड दिए । उनले उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिवृद्धि लगायतका बहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको प्रस्ट पारे ।
सम्मेलनमा अनलाइन आवेदनका आधारमा देशभरका ३५० युवा उद्यमी सहभागी थिए ।
