आज देश दुनियाँमा के–के भयो ?

असार १७, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — कुलिङ पिरियडको विषयमा देखिएका समस्याको सोधखोज हुने सभामुख घिमिरेको भनाइ, संघीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्ने अध्यक्ष दाहालको माग, मनसुनका एक महिनामै ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते, थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बितदेखि पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालको जितसम्मका खबर आज चर्चामा रहे । 

००००

निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् । 

००००

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिस्ट लिग, नेपाल ९वाईसीएल० को केन्द्रीय पदाधिकारी बैठकलाई पेरिस डाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। 

००००

गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ। समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन्। पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ। 

००००

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो । 

००००

एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । 

कान्तिपुर

Link copied successfully