विनयी खोलाको डाइभर्सनबाट चल्न थाल्यो सवारीसाधन

असार १७, २०८२

नारायण शर्मा

Vehicles started running through the diversion of Vinayi river

नवलपरासी — दुम्कीवासको विनयी खोलामा डाइभर्सन निर्माण गरेर मंगलबार दिउँसोबाट यातायात सञ्चालनमा ल्याइएको छ । खोलामा पानीको सतह घटेपछि त्यहाँ डाइभर्सन निर्माण गरेरे यातायात सञ्चालनमा ल्याइएको हो।

तीन दिनअघि विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्स्पेक्टर राजन तिमिल्सिनाले जानकारी दिए। डाइभर्सन बगाएपछि वारपार हुन नसकेर दुम्कीवास र बर्दघाटमा रोकिएका सयौँ मालवाहक ट्रक र लरी गन्तव्यतर्फ लागेका छन्। डाइभर्सनमा मंगलबार दिउँसो पौने ४ बजेदेखि यातायात सञ्चालन भएको हो।

पूर्वी नवलपरासीको महेन्द्रराजमार्गमा पर्ने दुम्कीवासस्थित विनयी खोलाको फलामे पुल भाँचिएको ६ महिनाको अवधिमा यहाँ ११ पटक डाइभर्सन निर्माण गरिएको थियो । तिमिल्सिनाका अनुसार ति सबै डाइभर्सन बाढीले बगाएको थियो। बाढी आउनासाथ बगाउने र पानी सुक्नासाथ डाइभर्सन निर्माण गरेर मालवाहक र लामो दुरीका गाडी वारपार गराइँदै आएको थियो।

सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले मंगलबार डाइभर्सन निर्माण गरेर दाउन्ने सडक आसपासमा रोकिएका गाडी वारपार गराएपछि अब त्यहाँ डाइभर्सन निर्माण नहुने सम्भावना रहेको बताए। अब वर्षा भए पनि एक–दुई दिनका लागि डाइभर्सन निर्माण नहुने उनले जनाए।

आउँदो शनिबार विनयी खोलामा निर्माण गरिएको पक्की पुलबाट यातायात सञ्चालन हुने भएकाले दुम्कीवासको विनयी खोलामा अब डाइभर्सन निर्माण नहुने रिजालले बताए। उनले भने, 'अब दुम्कीवासमा गाडी रोकिँदैन।'

सामान्य वर्षा हुनासाथ दाउन्ने सडक खण्डमा हिलोमा गाडी फसेर यातायात ठप्प हुने गरेको छ।

महेन्द्र राजमार्गको स्तरोन्नतिको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङले काममा लापरबाही गरेका कारण दाउन्नेमा सामान्य वर्षा हुनासाथ घण्टौँ गाडी रोकिने गरेको छ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully