रोकिएका गाडी वारपार गराउन विनयी खोलामा डाइभर्सन बनाइँदै

असार १७, २०८२

नारायण शर्मा

A diversion is being made in Binayi river to allow the stopped vehicles to cross

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडक खण्डमा तीन दिनदेखि रोकिएका सयौँ गाडी वारपार गराउन दुम्कीवासस्थित विनयी खोलामा डाइभर्सन सडक निर्माणको काम भइरहेको छ।

खोलामा पानीको सतह घटेको अवस्थामा मंगलबार त्यहाँ डाइभर्सन निर्माणको काम भइरहेको हो।

तीन दिनअघि विनयीको डाइभर्सन बगाउँदा दुम्कीवास र बर्दघाट क्षेत्रमा सयौँ मालवाहक ट्रक रोकिएका छन्। मालवाहक गाडी डाइभर्सन सडकबाट आउजाउ गराइँदै आएको छ। साना सवारी र यात्रुवाहक बस भने होङ्सीगेट–सर्दी हुँदै दाउन्ने वारपार गरिरहेका छन्।

इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले डाइभर्सन निर्माण भएपछि महेन्द्र राजमार्गमा रोकिएका सबै मालवाहक र रित्तो ट्रक दाउन्ने वारपार हुने जानकारी दिए।

पूर्वी नवलपरासीको महेन्द्र राजमार्गमा पर्ने दुम्कीवासस्थित विनयी खोलाको फलामे पुल भाँचिएको ६ महिनाको अवधिमा यहाँ ११ पटक डाइभर्सन निर्माण गरिएको छ। बाढी आउनासाथ बगाउने र पानी सुक्नासाथ डाइभर्सन निर्माण गरेर मालवाहक र लामो दूरीका गाडी वारपार गराइँदै आएको छ।

सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले मंगलबार डाइभर्सन निर्माण गरेर दाउन्ने सडक आसपासमा रोकिएका गाडी वारपार गराएपछि फेरि त्यहाँ डाइभर्सन निर्माण नहुने जानकारी दिए। आगामी शनिबार विनयी खोलामा निर्माण गरिएको पक्की पुलबाट यातायात सञ्चालन हुने भएकाले दुम्कीवासको विनयी खोलामा गाडी रोकिन नपर्ने उनले बताए ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully