न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर हुँदै गएको छ : मुख्य सचेतक बर्तौला

असार १६, २०८२

कान्तिपुर संवाददाता

The public's trust in the courts is weakening: Chief Whip Bertaula

काठमाडौँ — नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर हुँदै गएको बताएका छन्।

संसदीय सुनुवाई समितिको बैठकमा सोमबार बोल्दै उनले न्यायालयप्रति आम जनताको भरोसा करिब करिब टुट्न खोजेको स्थिति रहेको बताए।

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईका योजना के छन् ? भन्दै प्रश्न गरे। न्यायाधीशहरूको भुमिकाप्रति नै आमनागरिकहरुले प्रश्न उठाउने गरेको उनको भनाइ थियो। 

उनले भने, ‘पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको छ । कमजोर मात्रै होइन, भरोसा करिव करिव टुट्न खोजेको छ । त्यसमा जिम्मेवार कारण धेरै होलान् त्यसमध्ये एउटा न्यायाधीशहरुको भुमिकाहरुप्रति नै गम्भीर प्रश्न छ । उहाँहरुको आचरण, न्याय सम्पादनमा विचलनका कुराहरु, यि विषयहरु छन् । यहाँले भोलि यस प्रकारका टिप्पणीहरु पुनः नआउन् भनेर कसरी अघि बढ्नुहुन्छ । पीडितले न्याय पाउने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ ?’

प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरुले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताए। 

कान्तिपुर

Link copied successfully