नेपाली श्रम बजारमा विदेशी श्रमिकको बाहुल्यता विस्तार हुँदै गएको छ : उद्योगमन्त्री भण्डारी

असार १६, २०८२

कान्तिपुर संवाददाता

The number of foreign workers in the Nepali labor market is increasing: Industry Minister Bhandari

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमिकको बाहुल्यता विस्तार हुँदै गएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले नेपालको श्रम र पुँजीबजार संकुचनमा रहेको बताए।

 पुँजीबजार गुञ्जायमान हुन नसकेको भन्दै उद्योगमन्त्री भण्डारीले नेपालको श्रम बजारले पनि अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए। नेपालको श्रम बजार नेपालीले भन्दा अरुले नै आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको बताए। नेपालको श्रम बजारले खोजिरहेको कुरा शिक्षा प्रणालीले दिन नसकेको उनको भनाइ थियो।

उनले भने, ‘आज नेपालको श्रम र पुँजीबजार संकुचनमा छ । पुँजीबजार गुञ्जायमान हुन सकेन । त्यसैगरी नेपालको श्रम बजार पनि हामीले अपेक्षा गरेको श्रम बजार बन्न सकेन । श्रम बजार हेर्ने हो भने आज नेपालीले भन्दा अरूले नै श्रम बजार आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको छ । यो किन त ? भन्दा नेपालको श्रम बजारले जे कुरा खोजिरहेको छ, त्यो हाम्रो शिक्षा प्रणालीले दिन सकिरहेको छैन।'

मन्त्री भण्डारीले नेपालको उच्च शिक्षा पूरा गरेको युवाले देशभित्रै भविष्य नदेख्नुको कारण पनि त्यही भएको बताए। उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पढ्दै कमाउँदै भन्ने नयाँ कार्यक्रम ल्याएको बताए। 

कान्तिपुर

Link copied successfully