काठमाडौँ — सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बलियो बनाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित संसद् दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् बहस, भाषण र नाराबाजी गर्ने मञ्च मात्र नबनोस् भन्नेमा जोड दिए। उनले संसद्को भूमिकालाई परिणाममुखी बनाउँदै गणतन्त्रप्रति जनताको वितृष्णा हटाउनेतर्फ सशक्त पहल गर्नुपर्ने बताएका हुन्।
सभामुख घिमिरेले भने, 'संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन। यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रूपमा विकास गर्नुपर्छ। जनताको आस्था बलियो बनाउने कुरामा संसद्ले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ।'
उनका अनुसार गणतन्त्रप्रति जनताको वितृष्णा बढाउने प्रयासहरूलाई निष्फल पार्नु अहिलेको प्रमुख आवश्यकता र कर्तव्य हो। संसद्ले यस्तो प्रयासलाई चिर्दै जनताको आशा र विश्वास कायम राख्नुपर्ने उनले बताए।
सभामुख घिमिरेले पूर्वसांसदहरूको अनुभव, ज्ञान र क्षमताको प्रयोग गर्दै हालका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, 'पूर्वसांसदहरूसँग भएको योग्यता र क्षमतालाई वर्तमान चुनौती सामना गर्न प्रयोग गरिनुपर्छ। त्यसका लागि संसद् र सरकारले अझ धेरै काम गर्नुपर्ने देखिन्छ।'
सशक्त सचिवालयको आवश्यकता
सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको पनि बताए। संसद्को प्रभावकारिता मात्र होइन, संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भइरहेकाले प्रणालीको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनले उल्लेख गरे।
