थोरै पैसाका लागि विदेसिनुभन्दा स्वदेशमै स्वरोजगार बन्नुस् : श्रममन्त्री भण्डारी

असार १६, २०८२

कान्तिपुर संवाददाता

Instead of going abroad for little money, become self-employed at home: Labor Minister Bhandari

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताएका छन् । 

सोमबार राष्ट्रिय युवा परिषद्‌द्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्तिस्रोतका रुपमा रहेको बताउँदै उनीहरुले स्वदेशमै उद्यमशीलता गर्नुपर्ने भनाइ राखे ।

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी १० वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्धन दशकका रुपमा कार्यक्रम घोषणा गरेको बताए । उनले भने, ‘वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन । तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देश भित्रै रोजगारको अवसर सिर्जना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ ।’

उनले रोजगारी सिर्जना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सिर्जना हुने जिकिर गरे । मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भवानालाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको विषय भएको बताए । उनले थोरै पैसाका लागि विदेसिनुभन्दा स्वदेशमै स्वरोजगार बन्न सुझाए ।

अगाडि थपे, 'नेपालीहरु वैदेशिक रोजगारमा जाने मात्रैको मात्रै छैन, सीप, ज्ञान, थोरै भए पनि पुँजी लिएर फर्केर आउनेहरुको संख्या पनि उत्तिकै छ ।'

मन्त्री भण्डारीले नेपाली श्रमबजारमा प्रत्येक वर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै ती श्रमशक्तिलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देशभित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए ।

कान्तिपुर

Link copied successfully