काठमाडौँ — न्याय परिषद् सदस्य पदका लागि सिफारिस भएका महेशकुमार नेपालले न्याय परिषद्मा नियुक्ति भएमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै नेपालले कुनै पूर्वाग्रह नराखी न्यायाधीशको नियुक्ति, सरुवा तथा सम्बन्धित कारबाही संविधान र कानुनअनुसार निष्पक्ष रूपमा गर्ने बताएका छन्।
उनले भने, 'कुनै पूर्वाग्रह नलिई गुण र दोषको आधारमा माननीय न्यायाधीशहरूको नियुक्ति, सरुवा सम्बन्धी कारबाही गर्ने जानकारी गराउँछु। संविधान र कानुनको निष्पक्षतापूर्वक पालना गर्नेछु। संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिबद्ध रहनेछु।'
नेपालले आस्थाका आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार नगर्ने स्पष्ट पारे। समानुपातिक तथा समावेशी प्रतिनिधित्वको संवैधानिक मर्मअनुसार कार्य गर्ने र निष्पक्ष तथा पारदर्शी न्यायालय स्थापनाका लागि निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले थपे, 'न्यायिक अनुशासन र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिका लागि प्रयत्नशील रहनेछु। आफूले सम्पादन गर्ने कार्यप्रति सदैव उत्तरदायी र जबाफदेही हुनेछु।'
प्रधानन्यायाधीशलाई सहयोग गर्ने प्रतिबद्धता
प्रस्तावित सदस्य नेपालले न्यायपालिका र कानुन क्षेत्रमा कार्यरत व्यक्ति तथा न्यायाधीशहरूको पनि कर्तव्य र दायित्व रहने भए पनि न्याय सम्पादनको मूल जिम्मेवारी प्रधानन्यायाधीशमा रहने भएकाले व्यक्तिगत रूपमा उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले न्यायपालिकाको गरिमा अभिवृद्धिमा आफू निरन्तर लाग्ने बताए।
