काठमाडौँ — सरकारले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा भाग लिनका लागि एकै पटक ठूला सङ्ख्यामा सचिवहरूको विदेश भ्रमण स्वीकृत गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सचिवहरूको विदेश भ्रमण स्वीकृत गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार सञ्चार सचिव राधिका अर्याल, खानेपानी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाको विदेश भ्रमण स्वीकृत गरिएको हो।
गुरुङले भने, 'विभिन्न फोरमहरूमा भाग लिन निमन्त्रणा आउने गर्छ। मलाई पनि निम्तो आएको थियो, तर म अन्य देश जाने तयारीमा छु। चीनमा हुने आइटीसम्बन्धी गोष्ठीमा भाग लिन सञ्चार सचिव जानुहुन्छ। त्यसै गरी अन्य मन्त्रालयका सचिवहरूको पनि भ्रमण स्वीकृत गरेका छौँ।'
उनले थपे, 'खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सञ्चार मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सचिवहरू सबै विदेश भ्रमणमा जाँदै छन्। मन्त्रालयहरूले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।'
मन्त्रिपरिषद्को अनुमोदन सचिव र सोभन्दा माथिल्लो पदका लागि आवश्यक हुने प्रावधानअनुसार यो स्वीकृति दिइएको हो। सोभन्दा तल्लो तहका पदाधिकारीहरूको भ्रमण सम्बन्धित मन्त्रालय वा मन्त्रीले स्वीकृत गर्ने चलन छ।
यस पटक सचिवहरू मात्र होइन, मन्त्रीहरू पनि विदेश भ्रमणमा जाँदै छन्। मन्त्रिपरिषद्ले असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रीलाई सहभागी हुन स्वीकृति दिएको छ। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पेरिस भ्रमण पनि स्वीकृत गरिएको छ।
हाल प्रधानमन्त्री स्वयं पनि विदेश भ्रमणमा छन्।
