काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठकले पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा निर्णय लिने छ।
बैठक आज दिउँसो १ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने छ।
बैठकको तयारीका सम्बन्धमा शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ ।
बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता महतले बताए। बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने उनले बताए।
यस्तै, महामन्त्री गगन थापाले पार्टीको क्रियाशील सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ ।
