पत्रकार पाठकविरुद्ध काठमाडौं अदालतमा फरार सूचीमा राखेर मुद्दा दायर

असार १६, २०८२

कान्तिपुर संवाददाता

A case was filed against the journalist Pathak in the Kathmandu court by putting him on the fugitive list

काठमाडौँ — साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको हो । 

सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले दायर गरेको अभियोग दाबीमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ । सरकारी वकिलको कार्यलयले पाठकलाई फरार सूचीमा समेत राखेको छ ।

पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत् हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंह देउवाको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले यसअघि पनि साइबर ब्युरोमा उजुरी दिएका थिए । तर उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न आदेश दिएको थियो । जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन् ।

कान्तिपुर

Link copied successfully