राजनीतिमा फर्किएको भण्डारीको घोषणाले एमालेमा हलचल

विधान महाधिवेशनको संघारमा भएको यो घोषणाले एमालेभित्र दुई कित्ताबीचको शक्ति संघर्ष फेरि सुरु हुने संकेत

असार १५, २०८२

कुलचन्द्र न्यौपाने

The announcement of Bhandari's return to politics caused a stir in UML

काठमाडौँ — राष्ट्रपतिको दुई कार्यकाल सकेर शीलतनिवासबाट बाहिरिएको दुई वर्ष साढे तीन महिनापछि विद्यादेवी भण्डारीले शनिबार पार्टी राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन् । केपी शर्मा ओली एमालेको नेतृत्वमा निर्विकल्प जस्तै बनिरहेका बेला भण्डारीको सक्रिय राजनीतिमा प्रवेश घोषणाले एमालेमा हलचल भएको छ ।

विधान महाधिवेशनको संघारमा भएको घोषणाले दुई कित्ताबीचको शक्ति संघर्ष फेरि सुरु हुने संकेत देखिएको छ ।

ओलीको कार्यशैलीमाथि प्रश्न उठाएरै भदौ ०७८ मा नेता माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । नेपालले एस स्थापना गरेपछि र असन्तुष्ट नेता भीम रावल निष्कासनमा परेपछि ओलीलाई चुनौती दिन सक्ने नेता देखिएका छैनन् । 

मदन भण्डारीको ७४औं जयन्तीका अवसर पारेर उनकै नाममा स्थापित फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिलाई निरन्तरता दिने औपचारिक उद्घोष गरिरहँदा त्यही कार्यक्रमका प्रमुख अतिथि बनाइएका प्रधानमन्त्री ओली भने हिँडिसकेका थिए ।

स्पेन भ्रमणको हतारो देखाएर सुरुमा मन्तव्य राखेर ओली बाहिरिएका थिए । ओलीपछि बोलेकी भण्डारीले सबै वस्तुस्थितिको विश्लेषणका साथ आफू सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गर्दा उपस्थित एमाले पंक्तिले गडगडाहट ताली बजाएर स्वागत गरेको थियो । 

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीति यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले ‘जबजको तीन दशक’ शीर्षकको बहस कार्यक्रममा भनिन्, ‘अब म एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्छॅ ।’

उनले एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्त्वाकांक्षा नभएको बताइन् । महाधिवेशको संघारमा सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरे पनि ‘विशिष्ट महत्त्वांकाक्षा नभएको’ भन्ने अभिव्यक्तिले उनी नेतृत्वमा आउने वा नआउने भन्नेबारे प्रस्ट भएको छैन । तर, उनी निकट नेताहरू पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने विधानमा व्यवस्था गराएर भण्डारीले ओलीलाई रोक्न चाहेको दाबी गर्छन् ।

भण्डारीले यसबीचमा देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तर्क्रिया गरेको, आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञसँग भेटघाट गरेको र त्यसैको निचोडका रूपमा सक्रिय राजनीतिलाई निरन्तरता दिने निर्णयमा पुगेको उल्लेख गरिन् ।

सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले आफू सक्रिय राजनीतिको यात्राको आउनुपरेको तर्क उनले गरेकी छन् । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो, जननेताले भन्ने गर्नॅहुन्थ्यो— जनता भनेका भगवान् हुन्, राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’ 

उनीअघि बोलेका ओलीले भने माधवकुमार नेपालले एमाले विभाजित गरेको प्रसंग कोट्याउँदै एमाले ध्वस्त हुन्छ भनेर कसैले बम पड्काउन खोजेको हो भने त्यो सम्भव नहुने बताए । ‘कुनै अनलाइनहरूले विद्या भण्डारी आउने कार्यक्रम भाँड्न खोजिएको भनेर विश्लेषण गरेका छन् । तर, एमाले जहाँ छ, एमाले निकटका संगठनहरू जहाँ छन, त्यसलाई कसरी भाँड्ने ? म आउने, विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ ?’ ओलीको भनाइ थियो, ‘यहींबाट एमाले ध्वस्त हुन्छ भनेर कसैले बम पड्काउँछु भन्ने ठानेको छ भने पड्कनेवाला छैन, आशा नगरे हुन्छ ।’ 

हतार भएको भन्दै ओलीले कार्यक्रममा लामो अभिव्यक्ति दिएनन् । ‘समय रहेन र मैले बीचमै बोल्न खोजें, मलाई सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरो पनि कुरा सुन्नुस् न भन्दै हुनुहुन्थ्यो, तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ, आज मात्रै सुन्नुपर्ने होइन, उहिलेदेखि सुन्दै आएको छु, राम्रो बोल्नुहुन्छ, थाहा छ,’ ओलीको भनाइ थियो, ‘उहाँले नराम्रो कहिले बोल्नुहुन्न, त्यसै भएर मैले सुन्न बसिरहनु पर्दैन ।’ 

केही समययता भने दुई नेताबीच छेडखानी चल्दै आएको छ । सक्रिय राजनीतिमा फर्केको औपचारिक घोषणा नगर्दै एमालेको ब्यानरमुनिका कार्यक्रममा भण्डारी सहभागी हुन थालेपछि ओलीले असन्तुष्टि पोख्दै आएका थिए । १० दिने चीन भ्रमणलगत्तै भण्डारीले पूर्वी नेपालमा कार्यक्रम र भेटघाट तीव्र बनाउँदा ओलीले असन्तुष्टिसमेत पोखेका थिए । 

The announcement of Bhandari's return to politics caused a stir in UML

ओलीले २५ जेठमा पार्टीको भ्रातृ संस्था अनेरास्ववियुको अधिवेशन उद्घाटन गर्दै भण्डारीप्रति कटाक्ष गरेका थिए । ‘अहिले हल्ला चलेको छ, तलतल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यक छैन । अर्को खेल हुन खोजेको छ यहाँ,’ ओलीले भनेका थिए, ‘फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर–बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नॅस् । स्टाटस सिस्टाटसलाई जवाफ दिनुस् ।’

 ओलीले पार्टीका कार्यक्रममा जाँदा अनुमति लिनुपर्नेसम्मको भनाइ राखेका थिए । त्यसलाई जबाफ दिँदै पूर्वराष्ट्रपति भण्डारीले देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहन नपर्ने प्रतिक्रिया दिएकी थिइन् । ‘म कहिल्यै गुटबन्दी नगरेर मूलधारको राजनीति गरिरहेको मान्छे । म अध्यक्ष हुने कुराले अरू आकांक्षीका मनमा केही प्रश्न उठेको हुन सक्छ,’ उनले भनेकी थिइन्, ‘म जुन पार्टीमा जन्में, हुर्कें र यो स्थानमा पुगें, त्योभन्दा फरक सोच्ने कुरा भएन । म अरू वामपन्थी र क्षेत्रीय पार्टीहरूले समेत समर्थन गरेर देशको राष्ट्रपति भएको हुँ ।’

भण्डारी २९ फागुन ०७९ मा राष्ट्रपतिको दोस्रो कार्यकाल पूरा गरेर शीतलनिवासबाट बाहिरिएकी थिइन् । कात्तिक ०७२ मा पहिलोपल्ट राष्ट्रपति बनेकी भण्डारी फागुन ०७४ मा लगातार दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति भइन् । राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।

एमालेको आगामी भदौमा हुने पार्टी विधान महाधिवेशनलाई दुई नेताबीचको शक्ति संघर्षको निर्णायक विन्दु मानिएको छ । भण्डारी पक्षधर नेताहरूले पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्व लिन नपाउने गरी विधानमा व्यवस्था गरिनुपर्ने मुद्दा अघि सारेका छन् । ७० वर्षको उमेर हद वा दुई वर्षको कार्यकाल लागू भएमा ओलीलाई आगामी महाधिवेशनबाटै नेतृत्वमा आउनबाट रोक्न सकिने दाउ भण्डारी पक्षधर नेताहरूको छ । ओली र उनीपक्षीय नेताहरू यो दुवै व्यवस्था विधानमा राख्न नदिने पक्षमा देखिएका छन् । 

 भण्डारीको पक्षमा उभिएका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०७८ मा सम्पन्न विधान महाधिवेशनमा पारित संगठनात्मक र राजनीतिक प्रस्तावमा नियन्त्रण र सन्तुलनका सिद्धान्त, कार्यकाल, उमेरका विषय सुविचारित ढंगले राखिएको बताए । ‘यो कुनै लहडबाजीमा एकाएक राखिएको थिएन, तीन दशको बहस र छलफलका निष्कर्षलाई सुविचारित रूपमा राखिएका कुरा हुन्,’ पोखरेलले भने, ‘पार्टी जीवनको लोकतान्त्रिकीकरण जबजको अविच्छिन्न अंग हो, यसलाई कमजोर पार्न सकिन्न ।’ 

 एमालेमा २०–२२ भदौमा विधान महाधिवेशन हुँदै छ भने त्यसपछि नेतृत्व चयनका लागि अर्को महाधिवेशन हुनेछ । ‘पूर्वराष्ट्रपति आउने/नआउने कुरा होइन । एउटा बलियो व्यवस्थामा दललाई प्रतिनिधित्व गरेर जानुभयो । त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो । उहाँ राजनीतिक व्यक्ति हो, राजनीतिमा रुचि हुन्छ । यो अनैतिक कुरा होइन,’ पोखरेलले भने, ‘जहाँसम्म के जिम्मेवारी लिने भन्ने कुरा छ, त्यो अध्यक्षसँग सल्लाह हुन्छ, पार्टीभित्र सल्लाह हुन्छ । यसलाई लिएर अनेक खालको ट्यारट्यार आवश्यक छैन ।’ 

पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिको प्रवेशको औपचारिकतासँगै एमालेभित्र दुई नेताका बीचमा ध्रुवीकरण हुने र शक्ति संघर्ष बढाउने चिन्ता पनि एकथरी नेताहरूको छ । तर, संस्थापन पक्षका नेताहरू त्यसो नहुने दाबी गर्छन् । ओलीनिकट नेता पदम गिरी विगतमा वैचारिक र सांगठनिक रूपमा एउटै कित्तामा रहेका नेताहरू महाधिवेशनसम्म समझदारी गरेर अघि बढ्ने दाबी गर्छन् ।

‘पार्टीभित्र महाधिवेशनसम्म जाँदा दुइटा नेता समझदारीपूर्वक नै जानुहुन्छ । बाहिर भनिएजस्तै ध्रुवीकरण हुन्छ, शक्ति संघर्ष हुन्छ भन्ने अनुमान पूरा हुन्न । पार्टीभित्र पनि उक्साउने स्थिति बन्न सक्छ,’ उनले भने, ‘तर दुवै नेतृत्व विगतमा परिपक्व राजनीतिक वैचारिक हिसाबले एकठाउँमा उभिँदै आएकाले आउने महाधिवेशन एकताकै महाधिवेशन बन्छ । सबै मुद्दामा समझदारी बन्छ । पार्टीभित्र शक्ति संघर्षको स्थिति हुन्न ।’ 

‘अर्को कार्यकाल पनि एमाले अध्यक्षमा केपी शर्मा ओली नै’

The announcement of Bhandari's return to politics caused a stir in UMLभानुभक्त ढकाल, एमाले स्थायी कमिटी सदस्य 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको घोषणाले पार्टीभित्र फेरि शक्तिसंघर्ष हुन खोजेको हो ? 

मलाई त्यस्तो लागेको छैन । उहाँ एमालेमै हुर्किनुभएको, एमालेकै नेतृत्व गर्नुभएको अनुभवी नेता हुनुहुन्छ । पार्टी कुनै दुर्घटनामा नजाओस् भन्नेमा हामीभन्दा पनि विशेष सचेत हुनुहुन्छ । फेरि उहाँले गर्दाखेरि ध्रुवीकरण बढ्ने हो र, होइन । 

विधान महाधिवेशनको संघारमा घोषणा गर्नुभएकाले दुई नेताबीचको शक्तिसंघर्ष सुरु हुन्छ भन्छन् नि ? 

एमालेमा कोही मान्छे आउनु र थपिनुले चिन्ता बढ्दैन । बरु एमाले छोडेर जानेका कारण चिन्ता बढ्छ । परिवारमा सदस्य वृद्धि हुने कुराले शक्तिसंघर्ष नै हुन्छ भन्ने लाग्दैन ।  

राष्ट्रपति भइसकेको मान्छे, अभिभावक भएर बस्नुपर्छ, सक्रिय राजनीतिमा आउने होइन भन्ने कोणबाट पनि बहस भएको थियो नि ? 

त्यो बहस त चल्ला नि अब । महाधिवेशनमा चल्ला । सडक, सडकमा चल्ला । पत्रिकामा मात्र बहस चलाएर के निष्कर्षमा पुगिएला र !  

पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था त अहिले पूर्वराष्ट्रपति भण्डारीकै तर्फबाट मुद्दा बन्दै छ नि त ? 

 दुई कार्यकालको प्रावधान एमालेको कुनै विधि–विधानमा छैन । त्यो मनगणन्ते कुरा हुन् । ७० वर्षको प्रावधान उपयुक्त हुन्छ कि भनेर परीक्षणमा ल्याएका थियौं । त्योचाहिँ पनि कामयाबी भएन भनेर केन्द्रीय कमिटी बैठकबाट परिमार्जन गरिसकेका छौं । ७३–७४ वर्षका मान्छे पनि यो बीचमा पार्टीमा ल्याइएकै छ । 

 केपी शर्मा ओलीलाई नेतृत्वमा राख्न यहीँ प्रावधान विधानमा राख्नुपर्छ भनेर मुद्दा बनाउन खोजिएको भन्ने चर्चा छ नि ? 

विधानमा के–के राखिन्छ, त्यो त त्यतिखेरको कुरा भो । आगामी ५ साउनमा केन्द्रीय कमिटी बैठक छ । त्यसपछि के राख्ने, के नराख्ने भन्ने कुरा पहिले नै बाहिर–बाहिर छलफल गरेर निष्कर्षमा पुगिन्छ र ! 

पार्टीभित्रै यो बहस चलिरहेको छ नि त ? 

बहस त आउँछ, छलफल हुन्छ । विधिवत् रूपमा के लाने, के नलाने भन्ने कुरो त केन्द्रीय कमिटी बैठकले छलफल गर्छ । विधिसम्मत ढंगले कसरी गर्ने ? अहिले परिवर्तित अवस्थामा पार्टीलाई कसरी सुदृढ, व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गरिन्छ ।

 अब विद्या भण्डारीलाई एमालेको वैकल्पिक नेताका रूपमा हेर्न थालियो नि, होइन ? 

महाधिवेशन ओपन भएपछि क–कसले के–के बोल्नुहुन्छ, कुन ढंगले जानुहुन्छ भन्ने कुरा त्यतिखेर हुने हो । वैकल्पिक त के भन्ने र ? अध्यक्षले केपी कमरेडले सार्वजनिक फोरममै एकपटक दोहोर्‍याउँछु भन्नुभएकै छ । उहाँ नै अघि सर्नुहुन्छ । वैकल्पिक भनेको त आफूले छोड्दाखेरी बनाउने न हो । पूर्वराष्ट्रपतिको प्रवेश हुँदैमा उहाँले छोड्नेजस्तो कुरो त हुँदैन । उहाँ राष्ट्रपति हुनुभो, बाहिर रहनुभो, अब एमालेमा सक्रिय राजनीतिमा आउने भन्नुभएको छ ।

सक्रिय राजनीति भन्नेबित्तिकै कतिपय मान्छे अध्यक्ष नै देख्छन् । कमिटीमा रहनुपर्ने होला, कमिटीमा नरहेर सक्रिय हुने कुरा होला । कुनै योगदान दिने भन्ने होला । उहाँले पनि म यहीँ पदका लागि भन्नुभएको छैन । अब उहाँका प्रवक्ता बनेर को–को मान्छे पार्टी बिगार्न लाग्छन्, तिनीहरूलाई सुन्ने कुरा हुन्न । विधान महाधिवेशन आयोजना गरेकै छौं । तयारीका लागि केन्द्रीय कमिटी, पोलिटब्युरो बैठक राखेका छौं । त्यसमा सबै खालका विचार आउँछन् ।

पार्टी व्यवस्थित गर्ने सन्दर्भमा अरू कुरा पनि आउँछन् । यी सबैमा छलफल गरेर केन्द्रीय कमिटीका तर्फबाट एक महिना अगाडि तल प्रस्ताव पठाउने वैज्ञानिक व्यवस्था छ । देशव्यापी सुझाव आइसकेपछि, बहस छलफल भइसकेपछि निचोडका रूपमा विधान अधिवेशन गर्छौं । बल्ल छलफल सुरु हुन लागेको छ । 

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully