९२ वर्षीया वृद्धाले जिउनी बेचेर राखेको १६ लाख फस्यो
चितवन — पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको पूर्वी भेग पर्सा बजारबाट दुई किमि उत्तर लागेपछि देखिन्छ– जस्ताले छाएको घर । खैरहनी नगरपालिका–३ धुसरीको त्यो घरमा जेठो छोरा जनार्दनसँग बस्छिन्, ९२ वर्षकी खड्गकुमारी गजुरेल । गर्मीले हपक्क हुने यो समयमा पनि खड्गकुमारी जस्ताको छानामुनि नै दिन गुजारिरहेकी छन् ।
जस्ताको तापभन्दा ठूलो सन्ताप छ उनको मनभित्र । बुढेसकालमा खर्चको जोहो गर्न खड्गकुमारीले साहारा चितवन बहुद्देश्यीय सहकारी संस्थामा १६ लाख रुपैयाँ राखेकी थिइन् ।
आफ्नो भाग (बुढ्यौली/जिउनी) को जग्गा बेचेर राखेको पैसा फिर्ता होला/नहोला भन्ने चिन्ताले एक वर्षयता उनी बिरामीजस्तै छिन् । ‘पोहोरसम्म टाठै हुनुहुन्थ्यो, एक वर्षयता त्यत्ति सन्चो छैन, बाहिरफेर खासै निस्कनु हुन्न, बेला–बेलामा पैसाको कुरा झिक्नुहुन्छ,’ छोरा जनार्दन भन्छन् ।
आमाको अवस्था देखेर चिन्तित जनार्दनले यो कुरा साहारा चितवन सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीसामु राखे । दुवाडी शुक्रबार खड्गकुमारीलाई भेट्न उनको घर गए । संघर्ष समितिका अन्य साथीसहित पुगेका दुवाडीले खड्गकुमारीलाई चिन्ता नलिन सम्झाइबुझाइ गरे । ‘मेरो त सर्वस्व त्यही पैसा हो, सकेसम्म फिर्ता ल्याइदिनु है बाबु,’ खड्गकुमारीले बरर्र आँसु झार्दै अनुरोध गरिन् ।
सिन्धुपाल्चोकबाट बसाइँ सरेर खड्गकुमारीको परिवार जेठ २०२६ मा चितवन जुटपानीको सूर्यपुर आएको थियो । ६ वर्षपछि खड्गकुमारीका श्रीमान् खडानन्दले परिवारलाई फेरि सूर्यपुरबाट अझै पूर्व धुसेरी सारे । खडानन्दको २०६७ मा निधन भयो । पतिले जोडेको जमिन तीन भाइको अंश लगाएर खड्गकुमारीको नाममा पनि केही राखियो । उमेर ढल्कँदै गएपछि खड्गकुमारीलाई सप्ताह लगाउने रहर जाग्यो ।
वैष्णव सम्प्रदायको गजुरेल परिवार धर्मकर्ममा धेरै विश्वास राख्छ । आमाको इच्छा पूरा गर्न खड्गकुमारीका तीन छोराले सल्लाह गरे । दाजुभाइको सरसहयोगले मात्र सप्ताहको खर्च पूरा हुने नदेखेपछि आमाको नामको जग्गा बेच्ने निधो गरे । जग्गा बेचेर सप्ताह लगाउनुका साथै आमाले देवघाटको मन्दिरमा पनि केही रकम दिएको छोरा जनार्दन बताउँछन् ।
त्यसपछि बचेको १६ लाख रुपैयाँ छोराहरूले आमाको नाममा खाता खोलेर पर्सा बजारको बैंकमा मुद्दती खातामा राखेका थिए । बैंकले ९ प्रतिशत ब्याज दिन्थ्यो । पछि पर्सादेखि केही पूर्वको खुरखुरे बजारमा रहेको एक सहकारीले १३ प्रतिशत ब्याज दिने बतायो । बैंकबाट उनीहरूले पैसा सहकारीमा सारे ।
चितवन साहारा सहकारीको पर्सा बजारमै शाखा खुल्यो । त्यहाँका प्रतिनिधिले १३.५ प्रतिशत ब्याज दिने प्रस्ताव लिएर घरमै आए । खड्गकुमारीका तीन छोरालाई ब्याजदरले मात्र तानेको थिएन । साहाराका प्रतिनिधिले तीन/तीन महिनामा घरमै आएर ब्याज बुझाउने आकर्षक प्रस्ताव राखे ।
‘आमाको उमेर घर्कंदै गएको थियो, घरदेखि पर डोर्याउँदै लगेर कति ब्याज बुझ्ने, ब्याज बुझाउन घरमै आउने हो भने विचार गर्ने कि भन्ने भयो,’ माइला छोरा हरिप्रसाद भन्छन् । तर सहकारीमा तत्काल पैसा नराख्ने राय राखे कान्छा टीकारामले । साहाराका प्रतिनिधि घर धाउने क्रम रोकिएन । एक दिन टीकाराम साहाराको पर्सा सेवा केन्द्र हेर्न पुगे । ‘त्यहाँको साजसज्जा राम्रै बैंकको भन्दा पनि बढ्ता थियो । मलाई लाग्यो, यसमा राख्नु खतरा छैन । पछि दाजुहरूसँग पनि सल्लाह गरेर लौ यतै सारौं पैसा भन्ने भयो,’ टीकाराम भन्छन् ।
८ साउन २०७९ मा ६ लाख ५० हजार रुपैयाँ झिकेर साहारामा राखे । ३० साउनमा ९ लाख ५० हजार रुपैयाँ पनि त्यहीं ल्याएर जम्मा गरे । सर्तअनुसार पहिलो तीन महिनामा ब्याज रकम घरमै आयो । तर त्यसपछि खड्गकुमारीको परिवारले ब्याजको बाटो कुरेको कुर्यै भयो । गितेन्द्रबाबु (जीबी) राई संस्थापक भएर सञ्चालनमा आएको भरतपुरको चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाले पछि जिल्लाको पूर्वी भेग रत्ननगरको टाँडी र खैरहनीको पर्सा बजारमा पनि शाखा विस्तार गरेको थियो । यो सहकारीमा जम्मा भएको पैसा बचतकर्ताले फिर्ता पाउन छाडे । बचतकर्ताको पैसा जीबी राईले नियमविपरीत आफ्ना अन्य निजी कम्पनीमा लगानी गरेको भेटियो ।
बचतकर्ताको ११ करोड रुपैयाँ जीबी राईको गोर्खा मिडियामा गएको थियो । गोर्खा मिडियाले ग्यालेक्सी फोर के टीभी चलाउँथ्यो । गोर्खा मिडियाका तीन सञ्चालकमध्ये एक रवि लामिछाने पनि थिए । उनी त्यसको प्रबन्ध निर्देशकसमेत थिए । उनी पछि टीभी छाडेर राजनीतिमा आए, चितवन–२ को सांसद तथा गृहमन्त्रीसम्म भए ।
रास्वपाका सभापति लामिछानेविरुद्ध साहारा सहकारी बचत रकम अपचलन गरेको भनेर चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । चितवनबाट धरौटीमा छुटे पनि यस्तै प्रकृतिको बुटवलको सहकारीको मुद्दामा उच्च अदालतले कारागार पठाउन भनेपछि लामिछाने हाल भैरहवा जेलमा छन् । जीबी राई फरार छन् । चितवनका ६ हजार ३ सय ३४ बचतकर्ताको ८५ करोड रुपैयाँ सो सहकारीमा फसेको छ ।
‘यस्ता वृद्धाको रकम पनि सहकारीका सञ्चालकले हिनामिना गरे । हाम्रो सरोकार चाँडोभन्दा चाँडो बचतकर्ताको रकम फिर्ता होस् भन्ने हो । किनकि खड्गकुमारी आमाजस्तो अति सामान्य व्यक्तिको रकम यसरी डुब्नुभएन,’ साहारा सहकारीबाट बचत फिर्ता नपाएपछि गठन भएको संघर्ष समितिका संयोजक शालिकराम दुवाडी भन्छन् । सहकारीबाट पैसा आउने/नआउने निधो नभएपछि आमाको मन बेचैन बनेको जनार्दन बताउँछन् ।
‘आमा कि घरभित्रै सुतेको सुत्यै हो, कि मनमनै केके बोल्नु हुन्छ हुन्छ । यस्तो हालतमा हामीले छाडेर परपर जान पनि सकेका छैनौं,’ उनी भन्छन् । धेरैथोरै जति भए पनि वृद्धवृद्धालाई आफ्नो पैसासँग लगाब हुन्छ । जे पायो त्यसैमा हम्मेसी खर्च गर्दैनन् । दसैं र अन्य पर्व, तिथि अवसरमा खड्गकुमारीले टीका लगाएर दक्षिणा दिने ७०/८० जना छन् ।
‘सबैलाई बाँचुन्जेल आफ्नै पैसा दानदक्षिणा गर्ने हो भन्नुहुन्छ । मन लागेको किनेर खान, औषधि उपचार र आपत्विपत्मा पनि खर्च गर्न भनेर राखेको पैसा यसरी चलाउन नपाउँदा आमाको मनलाई कसरी शान्ति हुनु ?,’ जनार्दन भन्छन् ।
