साहारा सहकारीले बनायो बेसहारा

९२ वर्षीया वृद्धाले जिउनी बेचेर राखेको १६ लाख फस्यो

असार १५, २०८२

रमेशकुमार पौडेल

Sahara Sahakari made Besahara

चितवन — पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको पूर्वी भेग पर्सा बजारबाट दुई किमि उत्तर लागेपछि देखिन्छ– जस्ताले छाएको घर । खैरहनी नगरपालिका–३ धुसरीको त्यो घरमा जेठो छोरा जनार्दनसँग बस्छिन्, ९२ वर्षकी खड्गकुमारी गजुरेल । गर्मीले हपक्क हुने यो समयमा पनि खड्गकुमारी जस्ताको छानामुनि नै दिन गुजारिरहेकी छन् ।

जस्ताको तापभन्दा ठूलो सन्ताप छ उनको मनभित्र । बुढेसकालमा खर्चको जोहो गर्न खड्गकुमारीले साहारा चितवन बहुद्देश्यीय सहकारी संस्थामा १६ लाख रुपैयाँ राखेकी थिइन् ।

आफ्नो भाग (बुढ्यौली/जिउनी) को जग्गा बेचेर राखेको पैसा फिर्ता होला/नहोला भन्ने चिन्ताले एक वर्षयता उनी बिरामीजस्तै छिन् । ‘पोहोरसम्म टाठै हुनुहुन्थ्यो, एक वर्षयता त्यत्ति सन्चो छैन, बाहिरफेर खासै निस्कनु हुन्न, बेला–बेलामा पैसाको कुरा झिक्नुहुन्छ,’ छोरा जनार्दन भन्छन् ।

आमाको अवस्था देखेर चिन्तित जनार्दनले यो कुरा साहारा चितवन सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीसामु राखे । दुवाडी शुक्रबार खड्गकुमारीलाई भेट्न उनको घर गए । संघर्ष समितिका अन्य साथीसहित पुगेका दुवाडीले खड्गकुमारीलाई चिन्ता नलिन सम्झाइबुझाइ गरे । ‘मेरो त सर्वस्व त्यही पैसा हो, सकेसम्म फिर्ता ल्याइदिनु है बाबु,’ खड्गकुमारीले बरर्र आँसु झार्दै अनुरोध गरिन् । 

सिन्धुपाल्चोकबाट बसाइँ सरेर खड्गकुमारीको परिवार जेठ २०२६ मा चितवन जुटपानीको सूर्यपुर आएको थियो । ६ वर्षपछि खड्गकुमारीका श्रीमान् खडानन्दले परिवारलाई फेरि सूर्यपुरबाट अझै पूर्व धुसेरी सारे । खडानन्दको २०६७ मा निधन भयो । पतिले जोडेको जमिन तीन भाइको अंश लगाएर खड्गकुमारीको नाममा पनि केही राखियो । उमेर ढल्कँदै गएपछि खड्गकुमारीलाई सप्ताह लगाउने रहर जाग्यो ।

वैष्णव सम्प्रदायको गजुरेल परिवार धर्मकर्ममा धेरै विश्वास राख्छ । आमाको इच्छा पूरा गर्न खड्गकुमारीका तीन छोराले सल्लाह गरे । दाजुभाइको सरसहयोगले मात्र सप्ताहको खर्च पूरा हुने नदेखेपछि आमाको नामको जग्गा बेच्ने निधो गरे । जग्गा बेचेर सप्ताह लगाउनुका साथै आमाले देवघाटको मन्दिरमा पनि केही रकम दिएको छोरा जनार्दन बताउँछन् ।

त्यसपछि बचेको १६ लाख रुपैयाँ छोराहरूले आमाको नाममा खाता खोलेर पर्सा बजारको बैंकमा मुद्दती खातामा राखेका थिए । बैंकले ९ प्रतिशत ब्याज दिन्थ्यो । पछि पर्सादेखि केही पूर्वको खुरखुरे बजारमा रहेको एक सहकारीले १३ प्रतिशत ब्याज दिने बतायो । बैंकबाट उनीहरूले पैसा सहकारीमा सारे ।

चितवन साहारा सहकारीको पर्सा बजारमै शाखा खुल्यो । त्यहाँका प्रतिनिधिले १३.५ प्रतिशत ब्याज दिने प्रस्ताव लिएर घरमै आए । खड्गकुमारीका तीन छोरालाई ब्याजदरले मात्र तानेको थिएन । साहाराका प्रतिनिधिले तीन/तीन महिनामा घरमै आएर ब्याज बुझाउने आकर्षक प्रस्ताव राखे ।

Sahara Sahakari made Besahara

‘आमाको उमेर घर्कंदै गएको थियो, घरदेखि पर डोर्‍याउँदै लगेर कति ब्याज बुझ्ने, ब्याज बुझाउन घरमै आउने हो भने विचार गर्ने कि भन्ने भयो,’ माइला छोरा हरिप्रसाद भन्छन् । तर सहकारीमा तत्काल पैसा नराख्ने राय राखे कान्छा टीकारामले । साहाराका प्रतिनिधि घर धाउने क्रम रोकिएन । एक दिन टीकाराम साहाराको पर्सा सेवा केन्द्र हेर्न पुगे । ‘त्यहाँको साजसज्जा राम्रै बैंकको भन्दा पनि बढ्ता थियो । मलाई लाग्यो, यसमा राख्नु खतरा छैन । पछि दाजुहरूसँग पनि सल्लाह गरेर लौ यतै सारौं पैसा भन्ने भयो,’ टीकाराम भन्छन् ।

८ साउन २०७९ मा ६ लाख ५० हजार रुपैयाँ झिकेर साहारामा राखे । ३० साउनमा ९ लाख ५० हजार रुपैयाँ पनि त्यहीं ल्याएर जम्मा गरे । सर्तअनुसार पहिलो तीन महिनामा ब्याज रकम घरमै आयो । तर त्यसपछि खड्गकुमारीको परिवारले ब्याजको बाटो कुरेको कुर्‍यै भयो । गितेन्द्रबाबु (जीबी) राई संस्थापक भएर सञ्चालनमा आएको भरतपुरको चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाले पछि जिल्लाको पूर्वी भेग रत्ननगरको टाँडी र खैरहनीको पर्सा बजारमा पनि शाखा विस्तार गरेको थियो । यो सहकारीमा जम्मा भएको पैसा बचतकर्ताले फिर्ता पाउन छाडे । बचतकर्ताको पैसा जीबी राईले नियमविपरीत आफ्ना अन्य निजी कम्पनीमा लगानी गरेको भेटियो ।

बचतकर्ताको ११ करोड रुपैयाँ जीबी राईको गोर्खा मिडियामा गएको थियो । गोर्खा मिडियाले ग्यालेक्सी फोर के टीभी चलाउँथ्यो । गोर्खा मिडियाका तीन सञ्चालकमध्ये एक रवि लामिछाने पनि थिए । उनी त्यसको प्रबन्ध निर्देशकसमेत थिए । उनी पछि टीभी छाडेर राजनीतिमा आए, चितवन–२ को सांसद तथा गृहमन्त्रीसम्म भए । 

रास्वपाका सभापति लामिछानेविरुद्ध साहारा सहकारी बचत रकम अपचलन गरेको भनेर चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । चितवनबाट धरौटीमा छुटे पनि यस्तै प्रकृतिको बुटवलको सहकारीको मुद्दामा उच्च अदालतले कारागार पठाउन भनेपछि लामिछाने हाल भैरहवा जेलमा छन् । जीबी राई फरार छन् । चितवनका ६ हजार ३ सय ३४ बचतकर्ताको ८५ करोड रुपैयाँ सो सहकारीमा फसेको छ । 

‘यस्ता वृद्धाको रकम पनि सहकारीका सञ्चालकले हिनामिना गरे । हाम्रो सरोकार चाँडोभन्दा चाँडो बचतकर्ताको रकम फिर्ता होस् भन्ने हो । किनकि खड्गकुमारी आमाजस्तो अति सामान्य व्यक्तिको रकम यसरी डुब्नुभएन,’ साहारा सहकारीबाट बचत फिर्ता नपाएपछि गठन भएको संघर्ष समितिका संयोजक शालिकराम दुवाडी भन्छन् । सहकारीबाट पैसा आउने/नआउने निधो नभएपछि आमाको मन बेचैन बनेको जनार्दन बताउँछन् ।

Sahara Sahakari made Besahara

‘आमा कि घरभित्रै सुतेको सुत्यै हो, कि मनमनै केके बोल्नु हुन्छ हुन्छ । यस्तो हालतमा हामीले छाडेर परपर जान पनि सकेका छैनौं,’ उनी भन्छन् । धेरैथोरै जति भए पनि वृद्धवृद्धालाई आफ्नो पैसासँग लगाब हुन्छ । जे पायो त्यसैमा हम्मेसी खर्च गर्दैनन् । दसैं र अन्य पर्व, तिथि अवसरमा खड्गकुमारीले टीका लगाएर दक्षिणा दिने ७०/८० जना छन् ।

‘सबैलाई बाँचुन्जेल आफ्नै पैसा दानदक्षिणा गर्ने हो भन्नुहुन्छ । मन लागेको किनेर खान, औषधि उपचार र आपत्विपत्मा पनि खर्च गर्न भनेर राखेको पैसा यसरी चलाउन नपाउँदा आमाको मनलाई कसरी शान्ति हुनु ?,’ जनार्दन भन्छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully