काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्य आफ्नो अधिकतम प्रयास रहने बताएका छन्।उनले कुनै पनि मुद्दामा समयमा फैसला दिनुपर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए।
संसदीय सुनुवाई समितिको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने कुरामा जोड दिने बताए।
इजलासको बहसको समय व्यवस्थापन आफ्नो प्राथमिकतमा रहने उनको भनाइ छ। बार र बेन्चलाई व्यवस्थित बनाएर जाने भन्दै उनले अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहेको बताए। न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय सहभागिता रहने उनको भनाइ छ।
उनले भने, ‘फरक मुद्दा व्यवस्थापन कार्य छ। फरक मुद्दा व्यवस्थापन भनेको न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने, यसलाई थप पूर्वाधार चाहिन्छ, यो आइटीबेस छ । आवश्यक पूर्वाधार छैन । सफ्टवेयर नभएका कुराहरु छन् । तर यसलाई सर्वोच्च अदालतमा पनि लागू गर्न जरुरी छ । यसलाई विस्तार गर्नसके न्यायपालिकाप्रति जुन अनास्था छ, जुन मुद्दा ढिलो भयो भन्ने, पूर्वानुमान योग्य बनाउन यसले धेरै काम गर्दछ । त्यसको लागि म प्रयत्नशिल रहनेछु । इजलासको बहसको समय व्यवस्थापन मेरो प्राथमिकतामा रहनेछ । मुद्दाको परिस्थितिअनुसार मुद्दामा बहसको समय व्यवस्थापन गर्न, अनावश्यक पेशी स्थगितलाई निरुत्साहित गर्न, इजलासले सयम व्यवस्थापन गर्न, जटिल मुद्दामा बहसको माग गर्न बार एशोसिएशन लगायतका नियकासँग नियमित छलफल गर्न समय व्यवस्थापन गर्न म पहल गर्नेछु ।’
