आधा असार बित्यो, रोपाइँ १६ प्रतिशत

१३ लाख ९१ हजार ३ सय २१ हेक्टर क्षेत्रफलमध्ये २ लाख १७ हजार २ सय ८९ हेक्टरमा रोपाइँ, मधेशका सप्तरी, रौतहट र महोत्तरीबाट विवरण आउन बाँकी

असार १५, २०८२

राजु चौधरी

Half of June passed, planting 16 percent

काठमाडौँ — असार आधाआधी बित्दा १६ प्रतिशत हाराहारी मात्र रोपाइँ भएको छ । आइतबार मुलुकभर धान दिवस मनाइरहँदा सरकारले १३ असार सम्ममा १५.६ प्रतिशत रोपाइँ सकिएको आकडा सार्वजनिक गरेको छ । यो गत बर्षभन्दा थोरै कम हो । अघिल्लो बर्ष १४ असार २०८१ सम्ममा १७.२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।

बर्खे धान १३ लाख ९१ हजार ३ सय २१ हेक्टरमा लगाइने गरिएकामा यसपालि हालसम्म २ लाख १७ हजार २ सय ८९ हेक्टरमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । ‘मनसुन सक्रिय नै छ, मधेशबाहेक अन्य क्षेत्रको रोपाइँ राम्रो छ,’ केन्द्र प्रमुख केशव देवकोटा भन्छन् ।

मधेशमा चैते धान र मकै खेती रहेकाले रोपाइँमा केही ढिलाइ भएको देवकोटाको भनाइ छ । बाँके, बर्दियालगायत क्षेत्रमा चैते धान र मकै खेती भित्र्याउने क्रम नसकिएको उनी बताउछन् । ‘बर्खे धानका लागि जमिन खाली हुन बाँकी नै छ,’ देवकोटा भन्छन्, ‘त्यही भएर पनि मधेशमा कम रोपाइँ भएको देखियो, असार तेस्रो सातापछि रोपाइँ बढ्छ ।’

मधेशमा ३.९ प्रतिशत मात्र रोपाइँ भएको केन्द्रले जनाएको छ । मधेशमा ३ लाख ८० हजार २ सय ८३ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १४ हजार ७ सय ८५ हेक्टरमा रोपाइँ सकिएको छ । 

केन्द्रका वरिष्ठ माटोविज्ञ बलराम रिजाल मधेशमा असार लागेपछि मात्र ब्याड राख्ने चलन भएकाले थोरै रोपाइँ भएको बताउछन् । पहाडको हकमा भने जेठ अन्तिमबाटै रोपाइँ सुरु हुने उनको भनाइ छ । ‘मधेशमा फाट्टफुट्ट मात्र रोपाइ भएको छ, पानी परिराखेको छ, अब रोपाइँले तीव्रता लिन्छ,’ उनी भन्छन् ।

सबैभन्दा धेरै मध्य पहाडमा रोपाइँ भएको छ । खोलानाला र छेउछाउ खेतमा बढी रोपाइँ भएका छन् । सबैभन्दा धेरै सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ भइसकेको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ८० हजार १ सय २८ हेक्टरमा रोपाइँ भएको छ । कर्णालीमा ३९.१ प्रतिशत रोपाइँ भइसकेको छ । यस प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १६ हजार २ सय हेक्टरमा रोपाइँ भएको छ । 

Half of June passed, planting 16 percent

बागमतीमा भने २०.५ प्रतिशत रोपाइँ भएको छ । यहाँ १ लाख २० हजार २ सय ८३ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २४ हजार ७ सय ४३ हेक्टरमा रोपाइँ भएको केन्द्रको तथ्यांक छ । 

कोशीमा १४.३ प्रतिशत रोपाइँ भएको छ । यहाँ २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ३९ हजार ३ सय ९० हेक्टरमा रोपाइँ भएको छ । गण्डकीमा १३.८ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ १२ हजार ९ सय ९० हेक्टरमा रोपाइँ भएको छ । गण्डकीमा ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुन्छ । लुम्बिनीमा पनि ९.७ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख २ हजार ८ सय ८९ हेक्टरमा रोपाइँ हुने गरेकामा २९ हजार २ सय ५१ हेक्टरमा सकिएको छ । 

पहाडतिर जेठ अन्तिमदेखि नै रोपाइँ भए पनि सिँचाइ अभावले अपेक्षित रोपाइ हुन नसकेको कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारी बताउछन् । ‘कृषिप्रधान मुलुक भनिए पनि किसान सिँचाइको पहुँचबाहिरै छन्, तिनले रोपाइँका लागि आकाशे पानी कुर्नुपर्छ । त्यही भएर असार दोस्रो सातासम्म जम्मा १६ प्रतिशत मात्रै रोपाइँ भयो,’ अधिकारी भन्छन्, ‘सरकारी तथ्यांकमा सिँचाइ सुविधा बढेको दाबी गरिए पनि किसानले अनुभूति गरेका छैनन् ।’

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टरमध्ये ४४.४ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ पुगेको खेतीयोग्य जमिन औसतमा १.५ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । सिँचाइ प्रणाली निर्माण तथा मर्मतसम्भार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म ३१६ साना सिँचाइ आयोजना निर्माण भई ६१२ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार भएको छ । २०८१ फागुनसम्म ३१ हजार ३ सय ६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको सर्वेक्षणमा जनाइएको छ । 

चालु आर्थिक वर्षको फागुनसम्म सतहतर्फ १ हजार ५५ हेक्टर, लिफ्टतर्फ २ सय ७६ हेक्टर र भूमिगततर्फ ३ हजार १ सय ३६ हेक्टर गरी थप ४ हजार ४ सय ६७ हेक्टर जमिनमा सिँचाइ पुगेको छ । ‘कतिपय पानी परेपछि मात्रै पानी 

आउने नहर–कुलो छन् । पानी नपरे नहर सुक्छ, त्यसलाई समेत सिँचाइ सुविधा भनिएको छ,’ अधिकारी भन्छन् ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहेको सरकारी तथ्यांक छ । करिब ६२ प्रतिशत परिवारको प्रमुख पेसा कृषि हो । कुल गार्हस्थ्य उत्पादनमा चामलको योगदान करिब ५ प्रतिशत छ । तर रोपाइँको बेला मल र पानी अभाव हुँदै आएको छ । जसले गर्दा मागअनुसार उत्पादन हुन सकेको छैन । 

बर्सेनि अर्बौं रुपैयाँको धान–चामल आयात हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो । यसबाट ५९ लाख ५५ हजार ४ सय ७६ टन धान फलेको थियो । तर अझै १० लाख टन धान अपुग छ । ‘मुलुकका लागि आवश्यक ७० लाख टन धानमध्ये १० लाख टन अपुग छ । जेठ मसान्तसम्म धान, यसको बीउ, चामल र कनिका गरी ७ लाख ५३ हजार टन धानजन्य वस्तु आयात भएको छ । यसबाट ३८ अर्ब ९४ करोड रुपैयाँ बिदेसिएको छ,’ कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेल भन्छन्, ‘विशेषगरी चामलमा बढी निर्भरता देखिन्छ । नेपालमा कम उत्पादन हुने मसिना तथा बास्नादार चामलमा उपभोक्ताको बढी रोजाइ छ ।’

छिमेकी मुलुकले धान निर्यातले लिने नीतिगत व्यवस्थालगायत कारण उत्पादन वृद्धि भए पनि धान–चामलको आयात अपेक्षाकृत कम हुन नसकेको उनी बताउछन् । धान उत्पादन बढाउन मलखाद, गुणस्तरीय बिउ र अनुसन्धानबाट प्राप्त नवीनतम प्रविधि किसानमाझ पुर्‍याउन कार्यक्रम केन्द्रित गरेको उनको भनाइ छ ।

सुदूरपश्चिम : ४५.५५

रोपाइँ हुने : १ लाख ७६ हजार १ सय ५१ हेक्टर 

सकिएको : ८० हजार १ सय २८ हेक्टर

कर्णाली : ३९.१५

रोपाइँ हुने : ४० हजार ८ सय ८४ हेक्टर

सकिएको : १६ हजार २ सय हेक्टर

बागमती : २०.५५

रोपाइँ हुने : १ लाख २० हजार २ सय ८३ हेक्टर

सकिएको : २४ हजार ७ सय ४३ हेक्टर

कोशी : १४.३५

रोपाइँ हुने : २ लाख ७६ हजार ३ सय ८७ हेक्टर

सकिएको : ३९ हजार ३ सय ९० हेक्टर

 गण्डकी : १३.८५

रोपाइँ हुने : ९४ हजार १ सय ८२ हेक्टर

सकिएको : १२ हजार ९ सय ९० हेक्टर

लुम्बिनी : ९.७५ 

रोपाइँ हुने : ३ लाख २ हजार ८ सय ८९ हेक्टर

सकिएको : २९ हजार २ सय ५१ हेक्टर

मधेश : ३.९५ 

रोपाइँ हुने : ३ लाख ८० हजार २ सय ८३ हेक्टर

सकिएको : १४ हजार ७ सय ८५ हेक्टर

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully