गोरखा — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पालुङटार नगरपालिका–१ खोप्लाङस्थित बेलवासटारको खेतमा धान रोपाइँ गरेका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आइतबार पुर्ख्यौली थलो बेलवासटारस्थित आफ्नै खेतमा धान रोपाइँमा भट्टराई सहभागी भएका हुन् ।
हातमा कोदाली बोकेर खेतमा गएका भट्टराईले बाउसे गरे । हाते ट्र्याक्टर चलाए, धान रोपे । रोपाइँमा भट्टराईकी पत्नी तथा पूर्वमन्त्री हिसिला यमी पनि सहभागी भएकी थिइन् ।
बेलवासटारको पुर्ख्यौली थलोमा रहेको खेतमा भट्टराईले उन्नत जातको ‘सुख्खा २’ धान लगाएका हुन् । ८ रोपनी क्षेत्रफलको उक्त खेत भट्टराईकी छोरी मानुसी यमी भट्टराईको नाममा रहेको छ । स्थानीय मण्डली महिला किसान क्लबको समन्वय र व्यवस्थापनमा १० रोपनी क्षेत्रफलको खेत रोपाइँका लागि १० जना खेताला पनि लगाइएको थियो ।
नेपालको जमिन र हावापानी नै तुलनात्मक लाभको क्षेत्र रहेको भट्टराईले बताए । ‘बहुसंख्यक — ६० प्रतिशत — जनता कृषिमा आश्रित छन् । दुर्भाग्यवश कृषिलाई आधुनिकीकरण गर्न नसक्दा पर्याप्त उत्पादन र रोजगारी दिन सकिएको छैन, युवाहरू विदेश जान बाध्य भएका छन्,’ उनले भने, ‘यसलाई उल्टाउन परम्परागत खेतीपाती गरेर हुँदैन । आधुनिक ढंगले खेती गरौँ — मेसिनको प्रयोग गरेर रोप्ने, आधुनिक प्रविधिबाट खेती गरौँ ।’
पर्याप्त सिँचाइको व्यवस्था गर्न सके दुईवाली धान र नगदे बाली लगाउन सकिने उनले बताए ।‘उन्नत जातको बीउ बिजन प्रयोग गरौँ । त्यसो गरे नेपालमै उत्पादन र रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘यसका लागि राज्यले बजारको ग्यारेन्टी गर्नुपर्छ । विदेशी आयातमा कर लगाउनुपर्छ । कृषिको आधुनिकीकरणबाट रोजगारीको क्षेत्र सिर्जना हुन्छ ।’ कम्तीमा २० प्रतिशत युवालाई आधुनिक ढंगले खेती गर्न सिकाउन सके कृषिमा रूपान्तरण भई देशको अर्थतन्त्रको आधार बन्न सक्ने उनले बताए ।
