कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको पूर्वसन्ध्यामा सानेपामा तरुण दलका सदस्य आमरण अनशनमा बसे
काठमाडौँ — तदर्थवादबाट मात्रै भ्रातृसंस्था चल्न थालेपछि तरुण दलका दुई केन्द्रीय सदस्यले आइतबारदेखि कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपाको ढोकामै आमरण अनशन सुरु गरेका छन् । केन्द्रीय सदस्य रोदन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन् ।
तरुण दलको अधिवेशनको सुनिश्चिताको माग राख्दै उनीहरूले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघिल्लो दिनबाट आमरण अनशन सुरु गरेका हुन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठक सोमबारदेखि सानेपामा बस्दैछ र केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डामा तरुण दललगायतका म्याद सकिएका भ्रातृ संस्थाको विषय पनि रहेको छ ।
कांग्रेस सहमहामन्त्री डिना उपाध्याय र केन्द्रीय सदस्य जितजंग बस्नेतले केन्द्रीय कार्यसमितिको सोमबारदेखि बैठक सुरु हुने भएकाले आमरण अनशन स्थगित गर्न माग गरेका थिए। सभापति शेरबहादुर देउवाको आग्रहमा अनशन स्थगनका लागि पहल गर्न गएका उनीहरूलाई अनशनकारीहरूले माग पूरा नभएसम्म स्थगित नगर्ने बताएका छन् ।
तीन वर्षको कार्यकाल रहेको तरुण दलको सात वर्षदेखि अधिवेशन हुन सकेको छैन । पोखरामा ०७२ सालमा भएको अधिवेशनबाट जितजंग बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । महाधिवेशनमा चुनाव हुन नदिइकनै नेताहरूले भागबण्डाका आधारमा नेतृत्व र केही पदाधिकारीको चयन गरेका थिए । उक्त कार्यसमितिले पूर्णता नपाउँदै ०७८ को पार्टी महाधिवेशनपछि बस्नेत नेतृत्वको कार्यसमिति भंग गरी पार्टी केन्द्रीय कार्यसमितिले बिद्धान गुरुङको अध्यक्षतामा नयाँ तदर्थ समिति बनाएको थियो ।
अधिवेशन गराउन कार्यादेशसहितको तदर्थ समिति बने पनि गुरुङ नेतृत्वको समितिले तीन वर्षको समय नाघ्दासमेत अधिवेशनको कुनै तयारी गर्न सकेको छैन । अधिवेशनको तयारीसमेत गर्न नसकेको र गर्ने विश्वाससमेत नभएको वर्तमान कार्यसमितिलाई विघटन गरेर अधिवेशनको सुनिश्चितासहितको नयाँ तदर्थ समिति बनाउनुपर्ने माग आमरण अनशन सदस्यहरूको छ ।
गुरुङ नेतृत्वको तदर्थ समितिले तीन वर्षको कार्यकालभन्दा बढी अवधि बिताइसक्दासमेत एक जिल्लाको समेत अधिवेशन सम्पन्न गर्न सकेको छैन । विधानविपरीत मनपरी ढंगबाट संस्था चलाएको, संगठन विस्तारको नाममा आफू निकटका कार्यकर्ताहरूमार्फत सबै जिल्लामा विद्रोह गराउने काम गरिएको, पार्टीको निर्णयविपरीत एकलौटी ढंगले विवादास्पद निर्णय गरिएको भन्दै अनशनकर्ताद्वयले गुरुङ नेतृत्वको तदर्थ समिति विघटनको माग गरेका हुन् ।
‘महाधिवेशनको वातावरण सुनिश्चित गर्न वर्तमान कार्यसमिति तत्काल भंग गरिनुपर्छ, समावेशी र न्यायपूर्ण सहभागिता सुनिश्चित गर्दै संगठन विस्तार र अब तोकिएको समयभित्र अधिवेशन गर्न नयाँ तदर्थ समिति बन्नुपर्छ,’ केन्द्रीय सदस्य राईले भने ।
तरुण दललगायत म्याद सकिएका सबै भातृसंस्थाहरूको अधिवेशन गराउनका लागि कति समय दिने भन्नेबारेमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।
तरुण दल मात्र होइन, कांग्रेसका अधिकांश भ्रातृसंस्थाहरू वर्षौँदेखि अधिवेशन गराउन नसकेर अस्तव्यस्त छन् । ०६४ साल मंसिरमा तदर्थ समितिबाट सुरु भएको किसान महासंघ १८ वर्षदेखि तदर्थवादमा चलेको छ । स्थापनाकालदेखि नै यसको अधिवेशन हुन सकेको छैन । थारू र खेलकुद संघले स्थापनाकालदेखि नै तदर्थवादमा चलाइरहेका छन् । महिला संघले २०७३, दलित संघले २०६९ मा अधिवेशन गरेपछि त्यसयता अर्को अधिवेशन भएको छैन । तीन वर्ष कार्यकाल रहने कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांश तदर्थवादमा चलेका छन् ।
