हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष दाहाल

असार १४, २०८२

रासस

We are in the campaign of national capital promotion, good governance and prosperity: President Dahal

भक्तपुर — माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् ।

नेपाल उद्योग व्यापार महासंघको शनिबार यहाँ आयोजित सचिवालय बैठक तथा अन्तर्क्रियात्मक प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने योजनाबद्ध प्रयास भएको बताए ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार राष्ट्रिय पुँजी प्रवर्द्धनमा उनले जोड दिएको र सुशासन कायम गर्नमा नै ध्यानकेन्द्रित रहेको बताएका थिए । 

जनजीविकासँग प्रत्यक्ष सरोकार भएका ठूला पूर्वाधार परियोजना अघि बढाइएको स्मरण गर्दै अध्यक्ष दाहालले भने, 'सरकारको नेतृत्व गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण ‘करिडोर’लगायत परियोजनाको अवधारणा ल्यायौँ । ती आयोजनाले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन् । रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन अनुभव गरिसकेका छन् । हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्‍यौँ, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्‍याएको छ ।'

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका समूह प्रमुख गङ्गा कार्कीले देशको आर्थिक विकासबारे मन्तव्य व्यक्त गरेका थिए । 

रासस

Link copied successfully