काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् ।
स्वर्गीय एमाले नेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका-१३, कंकालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाबकिताब गरिने बताए ।
'हामी अर्जुनदृष्टिका साथ मिसन-२०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन,' अध्यक्ष ओलीले भने, 'हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।'
