पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : अध्यक्ष दाहाल

असार १४, २०८२

कान्तिपुर संवाददाता

There has been a deviation in the party's movement, there is a back and forth for the position: President Dahal

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए।

कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावका साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिका लागि आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो, त्योअनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गरे। अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताए।

अध्यक्ष दाहालले भने, ‘आजभोलि पार्टीमा, आन्दोलनमा धेरै किसिमका विचलनहरू — सैद्धान्तिक, राजनीतिक, व्यवहारिक, सांस्कृतिक — थुप्रै किसिमका विचलनहरू देखिन्छन्। हामीले जति बेला कम्युनिस्ट पार्टी स्थापना गरेर अघि बढ्दै थियौँ, जुन आदर्शको निम्ति र जुन समर्पण भावका साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिका लागि आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ, हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ। सबैतिर पदको निम्ति, स्वार्थको निम्ति, व्यक्तिगत प्रतिष्ठाको निम्ति तँछाडमछाड गरिएको देखिन्छ। हाम्रो पार्टीले गएको केन्द्रीय समितिको बैठकमा यो त बढी नै भयो। हामी हाम्रो विचार, राजनीतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका निम्ति समर्पित हुनुपर्ने हो, त्यस्तो भएन।’

अध्यक्ष दाहालले यही अवस्था चलिरहे कम्युनिस्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully