नेपाली फिल्म : डेढ अर्बको बक्स अफिस

१७ जनादेखि १७ लाखसम्म दर्शक तान्ने थरीथरीका कथा

असार १४, २०८२

दीपक सापकोटा, सजना बराल

Nepali film: box office of one and a half billion

काठमाडौँ — एक समय नेपालका फिल्म हलहरूमा हिन्दी र अंग्रेजी फिल्मको वर्चस्व थियो । नेपाली फिल्मलाई प्रदर्शनमा स्थान नदिएको भन्दै स्थानीय कलाकार, निर्माता, निर्देशकहरूले गुनासो नै गर्थे । नेपाली फिल्म नचल्ने भएकाले धेरै ‘सो’ दिन नसकेको हलवालाहरूको प्रतिक्रिया हुन्थ्यो । अहिले हलहरू धानिएकै स्वदेशी फिल्मको व्यापारले छ ।

त्यसैले गुनासो गर्ने पालो अहिले हलवालाहरूको छ । हिन्दी र अंग्रेजी फिल्मका दर्शक घटेकोमा उनीहरू चिन्तित छन् । तर, नेपाली फिल्मको कारोबार गत आर्थिक वर्षभन्दा चालु आवमा आधा अर्ब रुपैयाँले बढेकोमा समग्र फिल्म क्षेत्रले राहत महसुस गरेको छ ।

बक्स अफिस तथ्यांक हेर्दा टिकट बिक्री, आम्दानी, प्रभाव सबै हिसाबले नेपाली फिल्मको बजार चालु आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको भन्दा उल्लेख्य सुधारिएको छ । नेपाली फिल्मको टिकट बिक्री विदेशी फिल्मको भन्दा दोब्बर छ । पछिल्ला दुई वर्षमा ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘दिमाग खराब’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’, ‘ऊनको स्वीटर’, ‘अञ्जिला’ जस्ता फिल्मले हलहरूमा मनग्गे दर्शक जम्मा गर्न सके । 

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार आव २०८०/८१ मा ‘एनिमल’, ‘जवान’, ‘कल्की २८९८ एडी’ जस्ता भारतीय फिल्मको वर्चस्व थियो । चालु आवमा भने सर्वाधिक आम्दानी गर्ने १० फिल्ममध्ये शीर्ष पाँच वटा त स्वदेशी नै छन्, दोस्रो नम्बरको ‘पुष्पा २’ बाहेक । 

चालु आवमा प्रदर्शन भएका ६१ वटा स्वदेशी फिल्मले १ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ कुल आम्दानी गरेका छन् । सोही आवमा ७८ वटा विदेशी फिल्मको कुल आय ८६ करोड ९३ लाख रुपैयाँमा खुम्चिएको छ । गत आवमा प्रदर्शन भएका कुल ९० वटा विदेशी फिल्मको ‘ग्रस कलेक्सन’ १ अर्ब २५ करोड ६१ लाख रुपैयाँ छँदा ४५ वटा नेपाली फिल्मले ९८ करोड ४९ लाख रुपैयाँ कुल आम्दानी गरेका थिए । चालु आवको यस अवधिसम्म स्वदेशी फिल्मको कुल आम्दानी विदेशी फिल्मको भन्दा झन्डै ६४ करोड रुपैयाँले बढी छ ।

चालु आवमा स्वदेशी फिल्मका ५७ लाख ९६ हजार टिकट बिक्री भएकोमा विदेशी फिल्मको टिकट बिक्री भने २६ लाख मात्रै छ । ‘ऊनको स्वीटर’, ‘महाभोज’, ‘हाउसफुल ५’, ‘हाउ टु ट्रेन योर ड्रागन’, ‘बलेरिना’, ‘एलियो’, ‘ट्वान्टी एट इयर्स लेटर’ र ‘कुबेरा’ फिल्म अझै पनि हलमा चलिरहेकाले यो तथ्यांक आवको अन्तिमसम्ममा केही थप बढ्न सक्छ ।

गत आवमा ४५ वटा नेपाली फिल्मको कुल ३४ लाख वटा टिकट बिक्री भएका थिए भने ९० वटा विदेशी फिल्मको ३९ लाख वटा । चालु आवको हालसम्म सबैभन्दा धेरै आम्दानी गर्ने ‘पूर्णबहादुरको सारङ्गी’ एक्लैले १७ लाखभन्दा बढी टिकट बिक्री गरेर झन्डै ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । 

आम्दानीका हिसाबले दोस्रो स्थानमा रहेको ‘पुष्पा २’ ले यस वर्ष नेपालबाट २६ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ । ‘पुष्पा २’ को टिकट बिक्री संख्या ८ लाख ४४ हजार रहेकोमा ८ लाख १८ हजार वटा टिकट बिक्री भएको ‘अञ्जिला’ भने यस वर्ष बक्स अफिस कलेक्सनमा छैटौं स्थानमा रह्यो । अभिनेता विराज भट्टले निर्देशन तथा निर्माण गरेको एक्सन थ्रिलर ‘१२ गाउँ’ ले झन्डै २० करोड रुपैयाँ कुल आम्दानी (ग्रस कलेक्सन) गरेको थियो ।

हेमराज बीसी निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ ले १५ करोड र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले ११ करोड रुपैयाँ आम्दानी गरेका छन् । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले ८ करोड ८६ लाख रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको छ ।

१७ वटादेखि १७ लाख वटा टिकट बिक्री

अघिल्लो आवको तुलनामा चालु आवमा १६ वटा बढी स्वदेशी फिल्म प्रदर्शनमा आए । टिकट बिक्री ७० प्रतिशतले वृद्धि हुँदा आम्दानी ५२ करोड ८३ लाख रुपैयाँले बढेको देखिन्छ । गत वर्ष ‘महाजात्रा’ ले ५ लाख ३२ हजार दर्शक हलमा भित्र्याएर १५ करोड रुपैयाँभन्दा धेरै कमाइ गरेको थियो ।

Nepali film: box office of one and a half billion

Nepali film: box office of one and a half billion

Nepali film: box office of one and a half billion

यस वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले १७ लाख दर्शकलाई हलसम्म ल्याएर कीर्तिमानी रचेको छ । बाबु–छोराबीचको भावुक सम्बन्धमा बनेको यस फिल्मलाई दर्शकले औधी रुचाए । यस वर्ष सबैभन्दा कम टिकट बिक्री हुने फिल्मचाहिँ ‘शिरफूल’ बन्यो, जसले जम्मा ८९ वटा टिकट बिक्रीबाट १८ हजार ५ सय रुपैयाँ आम्दानी गरेको देखिन्छ । 

यसैगरी गत वर्ष साउन ५ मा प्रदर्शनमा आएको ‘ए ढाक्रे दाइ’ का जम्मा १७ वटा टिकट बिक्री भएको बक्स अफिस तथ्यांकमा देखिन्छ । यसबापत सो फिल्मले कुल २ हजार ६ सय ५० रुपैयाँ संकलन गरेको थियो । २०८२ मा नेपाली फिल्मको कुल टिकट बिक्री संख्या ५८ लाख नाघेको छ र यो अघिल्लो वर्षभन्दा २४ लाखले बढी हो ।

यसले पनि नेपाली फिल्म हेर्न हलहरूमा जाने दर्शकको संख्या उल्लेखनीय रूपमा बढेको देखाउँछ । तथापि, युवाहरूको विदेश पलायन र ओटीटीका कारण विदेशी फिल्म हेर्ने दर्शक घट्नुलाई फिल्म क्षेत्रले अर्थपूर्ण ढंगले हेरिरहेको छ ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully