काठमाडौँ — प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले एक ढिक्का भएकाले कसैले टुक्र्याउन नसक्ने बताएका छन्। जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित ‘जबजका तीन दशक’ कार्यक्रममा उनले एमाले टुक्र्याउने सपना नदेख्न चेतावनी दिएका हुन्।
अध्यक्ष ओलीले भने, 'नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ। विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबूतीका साथ अगाडि बढेको छ। एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन।' उनले एमाले एक रहेको र एक रहने उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) मार्क्सवादी चिन्तन र बहुदलीय जनवाद आत्मसात् गरेकाले पार्टी बलियो भएको बताए।
प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पुर्याएको योगदान र दिएको दिशानिर्देश नेपालको राजनीतिक विकासक्रममा एउटा विशेष कालखण्ड भएको बताए। 'जति बेला विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक सङ्कट पैदा भएको थियो, त्यस बेला मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले) ले नयाँ विचार अगाडि सारेको थियो,' उनले भने, 'तत्कालीन परिस्थितिलाई कसरी सामना गर्ने भन्ने अवस्थामा मदन भण्डारीले सोचबुझका साथ समयानुकूल ढङ्गले पार्टीलाई अगाडि बढाएका थिए।' उनले पछिल्ला तीन दशकमा जबजका सिद्धान्तलाई अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएको पनि उल्लेख गरेका छन्।
मदन भण्डारीले आफूलाई समयानुकूल ढङ्गले अगाडि बढाउँदै जनताको बहुदलीय जनवाद (जबज) को विचार निर्माण गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आज पनि नेपाल सोही विचारलाई मियो मानेर अगाडि बढिरहेको बताए। उनले एमालेको पाँचौँ महाधिवेशनमा जबज सूत्रीकृत गरे पनि त्यसका सम्पूर्ण आधार चौथो महाधिवेशनमै बनाएको बताए।
'एमालेको चौथो महाधिवेशनले नेपालको राजनीतिक आन्दोलनमा दुई वटा असाधारण योगदान पुर्याएको थियो — जबजको बाटो आत्मसात् र मदन भण्डारीलाई महासचिव बनाउने निर्णय,' उनले भने।
प्रधानमन्त्री ओलीले एमालेको चौथो महाधिवेशनले लिएको नीतिले पञ्चायती व्यवस्था ढालिएको पनि उल्लेख गरेका छन्। 'चौथो महाधिवेशनले लिएको नीतिले वाममोर्चा निर्माण भयो, नेपाली कांग्रेससँग सहकार्यको नीति अगाडि बढ्यो, फलस्वरूप संयुक्त आन्दोलन भई छ महिनामा पञ्चायती व्यवस्था ढल्यो, निरङ्कुश राजतन्त्र संवैधानिक बन्यो,' उनले भने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू आज स्पेनको औपचारिक भ्रमणमा जान लागेको उल्लेख गर्दै त्यहाँबाट फर्किएपछि हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक सञ्जाल उद्घाटन गर्ने बताए। 'कर्णालीमा पुल बनेको छ, म स्पेनबाट फर्किएपछि पुल उद्घाटन हुन्छ। त्यसपछि हुम्लाको सदरमुकाम मोटर चढेर जान सकिन्छ। अब नेपालका कुनै पनि सदरमुकाम दुर्गम रहँदैनन्। यो पनि जबजको सफलता हो,' उनले भने।
उनले महाकाली सन्धीको पक्षमा अहिले पनि एमाले रहेको उल्लेख गर्दै सम्झौता कार्यान्वयन गरिने बताए। 'यो सम्झौता कार्यान्वयन गर्नुपर्नेछ। सोही सम्झौताअनुसार हामीले बिजुलीको पैसा र पानी लिएका छौँ। अब पनि दोधारा–चाँदनीबाट थप पानी ल्याउनेछौँ,' उनले भने।
