काठमाडौँ — एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिक व्यक्ति भएकाले राजनीतिमा आउन नहुने तर्क गलत भएको बताएका छन् । उनले राजनीतिमा फर्कनु पूर्वराष्ट्रपतिको धर्म हुने बताए ।
मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको ‘जबजका तीन दशक’का विचार गोष्ठीमा बोल्दै पोखरेलले राजनीतिमा आउनै नहुने भनेर सैद्धान्तिकरण गर्न खोजे हास्यस्पद हुने बताए । ‘पूर्वराष्ट्रपति आउने/ नआउने कुरा होइन । एउटा बलियो व्यवस्थामा दललाई प्रतिनिधित्व गरेर जानुभयो । त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो । उहाँ राजनीति व्यक्ति हो, राजनीतिमा रुचि हुन्छ । यो अनैतिक कुरा होइन,’ उनले भने, ‘जहाँसम्म के जिम्मेवारी लिने भन्ने कुरा छ, त्यो अध्यक्षसँग सल्लाह हुन्छ, पार्टीभित्र सल्लाह हुन्छ । यसलाई लिएर अनेक खालको ट्यारट्यार किन गर्नुपर्यो ?’
पोखरेलले राजनीतिमा आउनु पूर्वराष्ट्रपतिको धर्म रहेको भन्दै राजनीतिलाई विस्मृतिमा राख्न नसकिने बताए । ‘उहाँ जुन ठाउँमा जन्मनुभयो, हुर्कुनुभयो । त्यसलाई विस्मृतिमा राख्न सकिन्न । राजनीतिमा जाँदाखेरी राजतन्त्रको विरोध गरेर गणतन्त्रमा आएको के काम भनेर सैद्धान्तिकरण गर्न खोजियो हो भने त्यो हास्यस्पद हुन्छ,’ उनले भने, ‘जिम्मेवारीको बिषयमा हामी सबैसँग सल्लाह गर्छौं । अध्यक्षसँग बसेर सल्लाह हुन्छ ।’
