‘जान्नेलाई छान्ने भन्ने’ले आफ्नै कारणले दुःख पाए : महासचिव पोखरेल

असार १४, २०८२

अनुप पौडेल

”Choosing those who know” suffered for their own reasons: General Secretary Pokharel

कास्की — एमाले महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले आफ्नै कारणले दुःख पाएको जिकिर गरेका छन् । पार्टी पोखरा महानगर कमिटीले ७४ औं मदन जयन्तीको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तल्लो अदालतले धरौटीमा छोड्दा माथिल्लो अदालत गएर दुःख पाएकाले कसैलाई दोष दिनु जायज नभएको बताए ।

‘खुरुखुर तल्लो अदालतको आदेश मानेर बसेको भए धरौटीमा छोडेकै थियो । जान्नेलाई छान्ने भन्ने, माथिल्लो अदालत गएपछि दुःख पाएको त हो नि । यही होइन र ?’ उनले भने । 

सहकारीको पैसा दुरुपयोग गरेर कारागार पुग्दा षड्यन्त्र भयो भन्नु ठीक नभएको उनको भनाइ थियो । ‘पैसा लैजाने, दुरुपयोग गर्ने र भन्ने ममाथि षड्यन्त्र भयो । कानुनले नदिने काम गर्नु भनेर कसैले हात डोहोर्‍याएर लग्या थियो र ?’ उनले भने, ‘रामकुमारी झाँक्रीले माधव नेपाललाई निर्वाचन आयोग लैजान हात तान्नेजस्तो थियो र रवि लामिछानेको हकमा ? त्यस्तो दृश्य त हामीले कहीँ देखेनौं ।’ 

सहकारीको रकम कम्पनीमा लगेर अपचलन गरिएको उनले दाबी गरे । ‘अभियान जान्नेलाई छान्ने भन्ने चलाउने । सहकारीको पैसा कम्पनीमा लैजान पाइँदैन भन्ने कानुन पनि जान्न नजान्न पाइन्छ ? एउटा सहकार्यको पैसा होइन ६–६ वटा सहकारीको पैसा लगेर कम्पनी खडा गर्ने र त्यो कम्पनीमार्फत सहकारीको रकम अपचलन गर्ने,’ उनले थपे, ‘त्यो कम्पनी पनि नाफामा गएको भए असल कामका लागि भन्न सकिन्थ्यो ।’

‘जोन्नेलाई छान्ने’ नारा बोक्नेले नेपालको संस्कृतिबारे पनि बुझ्नुपर्ने भन्दै उनले लामिछानेको व्यक्तिगत जीवनमाथि पनि टिप्पणी गरे । एउटा विवाहप्रति निष्ठा हुनुपर्छ भन्ने नेपाली समाजमा अनेक विवाह गर्ने व्यक्ति आदर्श व्यक्ति हुन नसक्ने उनको भनाइ थियो । 

अनुप

Link copied successfully