एसईईमा ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण

नतिजा सुधार गर्न हामीले गरेको मिहिनेत काम लागेको छ, ग्रेड नपाउने विद्यार्थीले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला : केपी शर्मा ओली, प्रधानमन्त्री

असार १४, २०८२

सुदीप कैनी

62 percent students passed SEE

काठमाडौँ — यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार साँझ प्रकाशन गरेको नतिजाअनुसार यस वर्षको उत्तीर्ण दर गत वर्षको भन्दा १३.९४ प्रतिशतले बढी हो ।

गत वर्षको एसईईमा ४७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यो वर्ष जीपीए ४ ल्याउने विद्यार्थीको संख्या पनि बढेको छ । देशभरबाट ९ सय ७१ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । गत वर्ष १ सय ८६ जनाको मात्रै जीपीए ४ थियो । यस पटक काठमाडौं जिल्लाबाट मात्रै ४ सय १० जनाले जीपीए ४ प्राप्त गरेको बोर्डले जनाएको छ । गत वर्ष काठमाडौंका ९४ जनाको जीपीए ४ थियो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय तहमा शिक्षाको अधिकार पुगेपछि शिक्षण सिकाइमा सुधार भएकाले नतिजा सुधारोन्मुख देखिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नतिजामा सुधार भएको भन्दै खुसी व्यक्त गरेका छन् । नतिजाप्रति जस लिँदै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मिहिनेत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नुहोला, सफलताको अर्को दिन पनि आउनेछ ।’ 

सिकाइमा सरकारले के–कति सुधार गर्‍यो भन्नेबारे प्रधानमन्त्री ओलीले खुलाएका छैनन् । यसअघि नै उनले एक सार्वजनिक कार्यक्रममा यो वर्ष ७० प्रतिशत हाराहारी विद्यार्थी पास हुने अनुमानसमेत गरेका थिए । वर्ष दिनमै नतिजामा उल्लेखनीय प्रगति देखिएपछि सिकाइमा सुधार गरिएको हो कि परीक्षा प्रणाली कमजोर पारियो भन्ने प्रश्न पनि जन्मिएको छ । 

शिक्षाविद् विद्यानाथ कोइरालाले सिकाइको गुणस्तर सुधार भएर मात्र एकाएक नतिजा सुधार भयो भनी विश्वास गर्न सक्ने आधार नरहेको जनाए । ‘कृपामा अंक थपियो कि विद्यार्थीकै क्षमता बढाएर पास गराइयो ? रातारात नतिजामा उल्लेखीय सुधार आएकामा प्रश्न र आशंका गर्नुपर्ने ठाउँ देखिएको छ,’ उनले भने, ‘केही स्कुलले सिकाइमा सुधार गरेका छन् । यतिले मात्र ४८ प्रतिशतबाट नतिजा ६२ प्रतिशतमा पुग्यो भन्न सकिँदैन । स्कुल, कलेज खाली हुन लागे भनेर दयामाया पलायो होला । प्रधानमन्त्रीको चाहनाले पनि काम गर्‍यो कि ?’

कोइरालाले गुणस्तर बढेर नतिजा सुधार भएको भन्ने प्रस्ट आधार नरहेको बताए । सरकारले नतिजा सुधारभन्दा पनि सिकाइ सुधारमा ध्यान दिनुपर्ने उनले औंल्याए । ‘पढिखान नसक्ने विद्यार्थीलाई गरिखाने सीप सिकाउने काम पनि सरकारकै हो,’ उनले भने, ‘त्यता पनि ध्यान दिनुपर्छ ।’

बोर्डका अनुसार यस वर्षको एसईईमा जीपीए ३.६० देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको छ । जीपीए ३.६० भन्दा मुनि ३.२० सम्म ८१ हजार ३ सय ८५ जनाले प्राप्त गरेका छन् । यस्तै, ३.२० भन्दा मुनि २.८० सम्म प्राप्त गर्ने ८९ हजार १ सय २४ जना छन् । सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको उक्त जीपीए प्राप्त गरेका हुन् । जीपीए २.८० भन्दा मुनि २.४० सम्म ४८ हजार ४ सय ७९ र २.४० भन्दा मुनि २.० सम्म ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ छ । जीपीए २.० भन्दा मुनि १.६० सम्म ल्याउने विद्यार्थी ८ जना मात्रै छन् । 

विगतमा जस्तै गणित, विज्ञान, अंग्रेजी, सामाजिकमा सबैभन्दा धेरै छात्रछात्रा ‘ननग्रेडेड’ (असफल) भएका छन् । गणितमा मात्रै १ लाख २८ हजार २ सय १५ जना ‘ननग्रेडेड’ छन् ।

अंग्रेजीमा ८० हजार ६ सय ७२, विज्ञान तथा प्रविधिमा ७९ हजार २ सय ७१, सामाजिकमा ५३ हजार १ सय ८६, नेपालीमा ५४ हजार ७ सय ३५, अर्थशास्त्रमा ४२ हजार १ सय ५० र ऐच्छिक गणितमा १८ हजार २ सय २२ जना ‘ननग्रेडेड’ भएका छन् । बोर्डका अनुसार १ सय २६ जनाको परीक्षा भने रद्द गरिएको थियो । सामुदायिक विद्यालयमा वर्षौंदेखि गणित, विज्ञान, अंगेजीलगायत विषयमा शिक्षक अभावको समस्या छ । २०५७ सालदेखि नै सामुदायिक विद्यालयमा एउटै पनि स्थायी दरबन्दी थप गरिएको छैन ।

परीक्षामा ग्रेड प्राप्तसहित उत्तीर्ण हुन प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । नतिजामा चित्त नबुझे पुनर्योग र उत्तरपुस्तिका पुनः परीक्षणको समेत व्यवस्था गरिएको परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए । त्यसका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । एसईईमा अनुत्तीर्ण विद्यार्थीको पूरक परीक्षा २९ साउनदेखि हुने बोर्डले जनाएको छ । यो वर्ष एसईई ७–१९ चैतमा भएको थियो ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully