कांग्रेस बलियो भएमात्रै सन्तोषको स्वास फेर्नसक्छौँ, नत्र धेरै अफ्ठ्यारो हुन्छ : उपप्रधानमन्त्री सिंह

असार १३, २०८२

कान्तिपुर संवाददाता

We can breathe a sigh of relief only if the Congress is strong, otherwise it will be a lot of trouble: Deputy Prime Minister Singh

काठमाडौँ — कांग्रेस पार्टी र यसका भातृ संगठन बलियो भएमात्रै सन्तोषको स्वास फेर्न सकिने उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन् । सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने पनि दाबी गरेका छन् ।

कांग्रेसले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले नयाँ पार्टीले जे भन्यो त्यो मान्दै जान नसकिने बताए । पुराना राजनीतिक दलहरू विभिन्न चरणका परीक्षा पास गर्दै यहाँसम्म आएको पनि सिंहको भनाइ थियो । 

उपप्रधानमन्त्री सिंहले अब कांग्रेस बलियो बन्नुपर्ने बताए । कांग्रेस बलियो नभएसम्म सन्तोष मान्न नसकिने उनको भनाइ थियो । ‘कांग्रेस पार्टी, कांग्रेस पार्टीका भ्रातृ संगठन, कांग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरू बलियो भएको खण्डमा मात्रै तपाईं हामीले सन्तोषको स्वास फेर्न सक्छौँ । होइन भने धेरै अफ्ठ्यारो हुन्छ,' उनले भने, 'समय र परिस्थितिलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्छ । २००३ सालमा स्थापना भएको कांग्रेस पार्टीलाई यत्रो परिवर्तन ल्याउन सफल भयो । अहिले पनि जनताले प्रश्न गर्दछ, कांग्रेस पार्टीले गर्नुपर्ने काम गरेन भनेर भन्छ भने भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन । हामी त पटक पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौँ ।'

जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गर्दै कुनै आन्दोलनमा सहभागी नभएकाले केही काम गर्छन् भन्ने आशा गर्नु तर्कसंगत नहुने पनि सिंहको भनाइ थियो । 'पटक-पटक परीक्षामा पास भएका पार्टीलाई त प्रश्न गर्छन् भने परीक्षामा केही भएकै छैन, तिनीहरूले मात्रै कुरा यहाँ हुने भयो भने यसरी देश कहाँ पुग्छ ? २००३ मा स्थापना भइ जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आसा गरेर पछि लाग्नु कत्तिको तर्कसंगत हुन्छ ? यसमा विचार गर्न जरुरी छ ।’  

उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताए । जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully